बँदेलले मकैबाली सखाप पारे पछि सल्यानका किसानहरु चिन्तित

Aug 7, 2020

सरिता चलाउने
साउन २३ , सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बदेलले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । नगरपालिकाका आधा दर्जन बढि बस्तिहरुमा बँदेल बथानले पाक्नै लागेको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन ।

बँदेलले बनगाड कुपिण्डे नगरपालिका ९ का गिठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, र्याले, अधेरी लगायतका गाउँहरुमा बँदेलको समुहले मकैबाली तहस नहस पारेको स्थानीयले बताएका छन ।

नजिकैका जंगलहरुबाट आएको बँदेलको बथानले पाक्नै लागेको मकैबाली नष्ट गरेको पिडित कासीराम बोहराले जानकारी दिनुभयो । दिनभरी जंगलमा बस्ने र राती भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाई छ । “परिवारको बर्षभरी पेटपाल्ने मकै दुइदिनमा बँदेलले तहस नहर पारिसके अब कसरी परिवारको गर्जो टार्ने चिन्ता लाग्न थालेको छ”, बोहोराले भने ।
नजिकैका जंगलहरुबाट रातको समयमा आएर मकैबारी नष्ट पार्ने बनगाड कुपिण्डे ९ का अनिल बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो, “हामीलाई बँदेलले बर्षेनी दुख दिदै आएका छ सरोकारवाला निकायहरुमा जति कुरा राखेपनि सनुवाई हुदैन अब हामीले बसाई सर्नुबाहेकको विकल्प छैन” । किसानहरु मकै जोगाउन रातभरी बारीमा जाग्राम बस्दै आएको बस्नेतको भनाई छ । “केहीदिन देखि हामी गाउँका सबै रातभरी बारीमै बस्छौ, थाल ठटाउने, होहल्ला गरेपनि बँदेल बारीमा छिरेर मकै नष्ट गरेको थाहै हुदैन”, बस्नेतले भन्नु भयो ।

लकडाउनले बाहिर कमाउन पनि जान नसक्ने लगाएको बालीनाली समेत जंगली जनवारहरुले नष्ट पार्न थालेपछि परिवारको गर्जो कसरी टार्ने भन्नेमा चिन्ता हुन थालेको किसानहरुले बताउन थालेका छन् । बदेलले बर्षेन दुख दिइरहेको कुरा सम्बन्धित निकायलाई थाहा भएपनि कुनै चासो नदिएको स्थानीयहरुको भनाई छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा बस्ती नजिक घना जंगल भएकोले पनि वर्षेनी स्थानीयहरु जंगली जनवारहरुबाट प्रभावित भइरहेका छन् । बँदेलले हरेक बर्ष यस क्षेत्रका करिव ४ सय घरधुरीले लगाउदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् । पछिल्लो समय जिल्लामा चोरी शिकारी समेत रोकिएकोले जंगलमा बँदेलको संख्यामा बृद्धि भएकोले पनि बर्षेनी बालीनालीको क्षतिमा पनि बृद्धि हुदै गएको पिडित किसानहरुको भनाई छ ।