बल्ल आयो राहत सामग्री

Jul 8, 2019

मनिष खड्का
असार २३, रुकुम पश्चिम

ढुवानी खर्च नहुँदा नेपालगञ्जमा थन्किएको राहात सामग्री लामो समय पछि रुकुम पश्चिम पुगेको छ । जिल्लाको मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकाले ढुवानीमा सहयोग गरेपछि नेपाल रेडक्रसको केन्द्रीय गोदाम घर नेपालगञ्जमा थन्किएको राहात सामग्री जिल्ला पुर्याईएको हो । नेपाल रेडक्रस जिल्ला शाखामा आउँनुपर्ने राहात सामग्री ढुवानी खर्च नहुँदा ल्याउन सकिएको थिएन् ।

चालु आर्थिक वर्षका लागि जिल्लालाई भाग परेको ५० घर परिवारलाई पुग्ने राहात सामग्री गत कार्तिक महिनाबाट ल्याउन पहल थालिएको थियो । तर रेडक्रससंग ढुवानीका लागि पैसा नभएपछि उक्त सामग्री नेपालगञ्जमै थन्किएका थिए । स्थानीय तहको सहयोगबाट जिल्लालाई भाग परेका राहातका सामग्री ढिलो गरी जिल्ला पुर्याईएको नेपाल रेडक्रस जिल्ला शाखा रुकुम पश्चिमकी सभापति रमा गौतमले जानकारी दिनुभयाे । 

उनका अनुसार राहात सामग्री ढुवानीका लागि आठबीसकोट नगरपालिकाले नगद ३० हजार र मुसीकोट नगरपालिकाले गाडि सहयोग गरेका हुन् । यसअघि तत्कालिन जिल्ला विकास समितिले राहात सामग्री ढुवानीका लागि वर्षमा २५ देखि ५० हजार सम्म सहयोग गर्ने गरेको थियो । तर स्थानीय तह बनेपछि भने ढुवानी खर्चको जोहो गर्न धौ धौ भएको सभापति गौतमले बताउनुभयाे । 

स्थानीय निकाय रहदा तत्कालिन जिल्ला विकास समितिले ढुवानी खर्च दिने गरेको थियो,’ उहाँले भन्नुभयाे, ‘स्थानीय तह भएपछि गत वर्ष रेडक्रसमा मौज्दात रहेको पैसाले राहात सामग्री ढुवानी गरेका थियौं, तर यो वर्ष भने हामि संग पैसा थिएन, स्थानीय तहमा माग गर्दा गर्दा ढिला भयो, राहात जस्तो सम्वेदनशिल विषयमा ढिलासुस्ति भयो ।’ उहाँ अनुसार यो वर्षको अहिले सम्म खासै विपदको सामना गर्नु नपरेकाले ढिलो हुँदा पनि केहि समस्या नभएको तर केहि ठुलै विपत्ति आईलागेको भए ठुलो क्षेति भोग्नुपर्ने थियो ।

स्थानीय तहले सहयोग गरेपछि ११ प्रकारका गैरखाद्य राहात सामाग्रीहरु आएका हुन् रेडक्रसले कम्बल, त्रिपाल, भाँडाकुँडा, बाल्टिन, कपडा, म्याट लगायतका सामग्री राहात स्वरुप वितरण गर्ने गर्छ । राहात सामग्री आएर वितरण गर्न पनि सुरु गरिएको रेडक्रसले जनाएको छ । अहिले सम्म ६ घर परिवार आगलागि पिडितले राहात बुझेको बताईएको छ ।

स्थानीय तहमा राहात कोष स्थापना गर्नुपर्छ
जिल्लामा आउनुपर्ने राहात सामग्री ढुवानी खर्चको अभाव देखिनु दुखद भएको सभापति गौतमले बताईन् । अव प्रत्येक स्थानीय तहहरुले विपद व्यवस्थापनका लागि आकष्मिक राहात कोष बनाउनुपर्नेमा गौतमले जोड दिनुभयाे ।

‘राहात सामग्री ढुवानीका लागि पैसा माग्दा पनि स्थानीय तहहरुले कुन शिर्षकबाट दिने हो भनेर अकमक्क परेको देखियो, यदी स्थानीय तहमा आकष्मिक कोष हुन्थ्यो त त्यसैबाट समयमै राहात सामग्री ढुवानी गरिन्थ्यो ।’ उहाँले भन्नुभयाे । स्थानीय तहमा आकष्मिक कोष स्थापना हुन सकेको खण्डमा विपदबाट हुने क्षेतिलाई कम गर्न सकिने उहाँको बुझाई छ ।