रेडियो श्रोता समूहको सक्रियतामा बढैयाताल गाँउपालिका ६ मा रेडियो बहस

Mar 25, 2019

अनाेज थारू

चैत ११, बर्दिया

बर्दियाको बढैयाताल गाँउपालिका वडा नं ६ का दिगो बिकास रेडियो श्रोता समूहले वडा स्तरीय रेडियो बहस कार्यक्रम संचालन गरेको छ । समुहकाे सक्रियतामा चालु आर्थिक बर्षमा बिकास निर्माण देखि लिएर शिक्षा, स्वास्थ्य, कृषिमा वडा कार्यालयले कति बजेट छुट्याएको छ ? र वडा कार्यालयबाट पाउने सेवा सुबिधाहरु के के छन् त्यो सबै सर्वसाधारण नागरीकहरुलाई थाहा नभएकोले, जानकारी दिने उद्देश्यले संचालन गरिएकाे समुहले जनाएकाे छ । 

दिगो बिकास रेडियो श्रोता समूहले रेडियो बहस कार्यक्रम गर्ने भनेर अघिल्लो महिनामै छलफलगरी निर्णय गरेको थियो । रेडियो बहस कार्यक्रममा बढैयाताल वडा नं ६ का अध्यक्ष रामहर्ष थारुले यो आर्थिक बर्षमा १ करोड ५ लाख बाराबरको बजेट बिकास निर्माणको लागि छुट्याइएको जानकारी दिनुभयो । साथै संघ बाट ५० लाख, प्रदेश सरकारबाट ७५ लाख र बाँकी रकम स्थानीय सरकारले हाल्ने गरी २ करोड रुपैँयाले खल्ला मैनापोखर देखि रानीपुर जाने बाटो सम्म कालो पत्रे गर्ने अध्यक्ष थारुले बताउनु भयो । त्यसैगरी गाँउपालिकाको लक्षित वर्गको बजेट अनुसार महिलामा ३० लाख,दलित महिलाको लागि १० लाख, जनजातिको लागि १५ लाख, आपाङ्ग, बालबालिका, जेष्ठ नागरीक, मधेसी मुस्लिम गरी १०।१० लाख, युवा र बिपन्न वर्गको लागि १५।१५ लाख बजेत छुट्याएको अध्यक्ष थारुले बताउनु भयो ।

बहस कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु बिच सुशासन र पारदर्शिता हुनु पर्ने आई.एच.आर.सि.बाँकेका कार्यक्रम ब्यवस्थापक रबिन्द्र ज्ञवालीले बताउनु भयो । साथै अहिलेको अवस्थामा बढ्दै गैरहेको भ्रष्टाचारलाई कम गर्नको लागि बेला बेलामा यस्तो कार्यक्रम हुनु पर्ने आई.एच.आर.सि.बाँकेका कार्यक्रम ब्यवस्थापक ज्ञवालीले बताउन भयो । रेडियो बहस कार्यक्रममा उपस्थित नागरीकहरुले बिकास निर्माणको काम देखि लिएर शिक्षा, स्वास्थ्य, कृषि र पशु सम्बन्धी बिषयमा गुनासो तथा प्रश्नहरु राखेका थिए ।

बहस कार्यक्रममा प्रमुख जवाफदेहिताको रुपमा बढैयाताल गाँउपालिका वडा नं ६ का अध्यक्ष राम हर्ष थारु, कृषि शाखाका प्रमूख दुर्गा दत्त बसौला, पशु साखाका प्रमुख असोक कुमार उपध्याय, स्वास्थ्य केन्द्रका प्रमुख भोजराज ढकाल रहनु भएको थियो । त्यसैगरी शान्ति सुरक्षा सम्बन्धी उठेका प्रश्नको जवाफ मैनापोर इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपि कृष्ण सुबेदीले दिनु भएको थियो । बढैयाताल गाँउपालिकाको आयोजनामा रेडियो गुर्वावा एफ.एम.का पत्रकार तथा सामुदायिक संचारकर्मी अनोज थारुले बहस कार्यक्रम रेडियो बहस संचालन गरेका थिए । कार्यक्रममा बुद्धिजिवी, समाजसेवी, गाँउका अगुवा बरघर, कृषक गरी  ४५ जना भन्दा बढिकाे सहभागीता रहेको थियो ।