विद्यालयको आर्थिक स्थितीलाई सुधार गर्नको लागी बिद्यार्थीहरुले ७० हजार मैनबत्ति उत्पादन गरे

Nov 7, 2019

जयराज अवस्थी/बैतडी/कात्र्तिक २१
बैतडीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले मैनबत्ति उत्पादन गर्ने गरेका छन् । पाटन नगरपालिका वडा. न. ९ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीवाट ७० हजार आम्दानी गरेको विद्यालयले जनाएको छ ।

उक्त विद्यालयमा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने पेशा व्यवसाय र प्रविधि शिक्षा बिषयको पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका हुन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयको आयश्रोत समेत बढाउनका लागि मैनबत्ती उत्पादन गर्ने कार्य गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो । विद्यार्थीहरुले उत्पादन गरेका मैनबत्ती स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरी लगायतका बजारमा बिक्रि गर्ने गरेको अध्यक्ष भाटले बताउनुभयो । विद्यालयले उत्पादन गरेका मैनबत्ति १५ रुपैयादेखि ७० रुपैंयासम्म पर्ने प्याकेटहरु रहेका छन् । विद्यालयले गत बर्ष पनि ५२ हजारका मैनबत्ती उत्पादन गरी बिक्री गरेको बताएको छ ।

मैनबत्ती बिक्रीबाट संकलन गरीएको रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी खर्च गरिने बिद्यालयले जनाएको छ । विद्यालयको आर्थिक स्थितीलाई सुधार गर्नको लागी र बिद्यार्थीहरुको पेसागत दक्षता र सिप हासिल गर्नको लागी प्रत्येक बर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर, अनुसाशन तथा आन्तरिक र बाह्य क्रियाकलापलाई जोड दिदै नमुना जिल्लाकै बन्ने उद्देश्यले लिएको विद्यालयले जनाएको छ ।
विद्यालयले रचनात्मक कार्यको थालनि गर्नु अन्त्यन्तै राम्रो कार्य भएको पाटन नगरपालिका ९का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो । विद्यालयले गरेको सिर्जनात्मक कार्यबाट अन्य बिद्यालयलाई समेत श्रृजनात्मक कार्यमा प्रेरणा मिलेको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।वडा कार्यालयले सिर्जनात्मक कार्यको लागी आगामी बर्ष देखि बजेट छुट्याउने उहाँले बताउनुभयो ।
वि.स. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल सम्म ३०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । अहिलेसम्म सिद्धेश्वर माविमा अविभावकहरुकै लगानीमा शैक्षिक समाग्री र बालउद्यान समेत निर्माण भएको छ । अहिले सिद्धेश्वर मावि बैतडीकैै पहिलो कागज रहित विद्यालयका रुपमा समेत परिचित रहेको छ ।