दादुरा\रुबेला खोप अभियान सुरु, बालबालिकालाई दुई चरणमा खोप दिइँदै

Feb 14, 2020

भूपेन्द्र रावत, ललितपुर ०२ फागुन । सरकारले दादुरा रुवेला रोग निवारणका लागी देशभर दुईमहिने दादुरा\रुबेला खोप अभियान सुरु गरेको छ ।

बिहीबार एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दादुरा\रुबेला खोप अभियानको शुभारम्भ गर्नुभयो । अभियान अन्तर्गत दुई चरणमा गरी देशभरका ९ देखि ५९ महिना उमेरका बालबालिकालाई खोप दिइँदै छ । यस उमेर समूहका करिब ३० लाख बालबालिका रहेको सरकारी अनुमान छ ।

५ वर्षमुनिका बालबालिकाको मृत्युको मुख्य कारकमध्ये दादुरा रोगलाई मानिन्छ । यस रोगलाई निवारण गर्न यस विरुद्धको खोप आवश्यक मानिन्छ । नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी क्लब र खोपका लागि अन्तर्राष्ट्रिय एलाइन्स (गाभी)को सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।

५० हजार खोप केन्द्रमार्फत मुलुकभरका बालबालिकालाई खोप दिलाउन एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालित भएका परिवार कल्याण महाशाखाले जनाएको छ । फागुन महिनाभर चल्ने पहिलो चरण अन्तर्गत ३ वटा प्रदेशका ३५ जिल्लामा खोप अभियान चलाइँदै छ ।

यस चरणमा प्रदेश १, प्रदेश २ र प्रदेश ५ का करिब १८ लाख २५ हजार बालबालिकालाई खोप लगाइने परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

दोस्रो चरण चैन महिनाभर चल्नेछ, जसअन्तर्गत बाँकी ४ प्रदेशका ४२ जिल्लामा अभियान चलाइनेछ । यसअन्तर्गत वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ११ लाख ५८ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिने कार्यक्रम छ ।

अभियानअन्तर्गत दादुरा रुबेलाविरुद्धको खोपसँगै १८ जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपासमेत खुवाइने खोप शाखाले जानकारी दिएको छ ।

तराईका २१ जिल्लामध्ये चितवन र नवलपरासीबाहेकका १९ जिल्लामा दादुरा रुबेलाविरुद्धको खोपसँगै पोलियो थोपा खुवाइन लागेको हो । यद्यपि, पोलियो रोग नेपालबाट १० वर्षअघि नै उन्मूलन भइसकेको छ ।

सन् २०१० यता नेपालमा पोलियोका नयाँ बिरामी नभेटिए पनि जोखिम मानिएका तराईका जिल्लामा पोलियो थोपा खुवाउन लागिएको मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन दक्षिणपुर्व एसियाको सेप्टेम्बर २०१९ को निर्णयले २०२३ सम्ममा दादुरा रुवेला रोग निवारण गर्ने निर्णय गरेको छ । त्यही निर्णय अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन र चैत महिना गरी दुई चरणमा देशैभर अभियान सञ्चालन गरेको हो ।