चाडपर्वका बेला सडक दुर्घटनाको जोखिम, न्युनिकरण गर्न के छ तयारी ?

Oct 2, 2019

आशिष मल्ल
डडेल्धुरा असोज १५ – शनिबार मात्रै महेन्द्रनगरबाट मेलौलीका लागी छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २१ जना घाइते भए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सडकमा रहेका खाल्डा खुल्डीका कारण छेउबाट चलाउन खोज्दा बस दुर्घटनामा परेको हो । विगतका वर्षमा पनि चाडपर्वका बेला यस्तै सवारी दुर्घटना हुने गरेका थिए ।

बढ्दो यात्रुको चाप, क्षमताभन्दा बढी मालसमान ओसार्नु, साघँुरो तथा गुणस्तरहिन सडक र चालक तथा सवारी धनीको लापरवाहीका कारण यस्ता दुर्घटना निम्तीने गर्दछन । चाडपर्व नजिकीए सँगै सडक दुर्घटनाको जोखिम बढ्ने गर्दछ । चाडपर्वका बेला हुने दुर्घटनाका कारण वर्षेनि ठुलै मानविय तथा भौतिक क्षती हुने गरेको छ ।

‘सडकमा भएका खाल्डाखुल्डी तथा यात्रुको चापले ने बढी दुर्घटना हुन्छन’ सवारी चालक डम्बर बहादुर पाल भन्छन ‘चाडपर्वको बेला छ सबैलाई गाउँघर जानुपर्ने हुन्छ नाईनाई भन्दा पनि लगिदिनुस भनेर जबरजस्ती कोचिन्छन’ । ‘पहाडी क्षेत्रमा साघुँरो तथा धेरै र छोटो घुम्ति भएका सडक छन ठुला सवारी हाक्न समस्यानै हुन्छ’ उनले भने ‘तर कतिपय दुर्घटना चालकले रक्सी तथा लागुपदार्थ खाएर पनि हुने गर्छन ।’

सुदूपश्चिममा विगतमा भएका दुर्घटनाका कारण जेसुकै भएतापनि त्यसमा ट्राफिक प्रहरीको लावरवाहीलाई दोष दिने गरिन्छ । प्रहरीले चेकजाँचमा हेलचक्रयाइ गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

दुर्घटना न्युनिकरण गर्न के छ तयारी ?
यस्ता दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी तथा सुरक्षा निकायले विभिन्न कार्यक्रम समेत सन्चालन गर्ने गर्दछन । यो पटक पनि चाडपर्वका बेला जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्युनिकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । डडेल्धुरामा चाडपर्वलाई मध्यनजर गरेर विभिन्न सुरक्षा योजना बनाइएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

‘विभिन्न स्थानमा स्थानिय तहको सहकार्यमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड लगाएका छौ, ठाँउठाउँमा चालक र सहचालकलाई परिक्षण समेत दिनेगरेका छौ’ ट्राफिक प्रमुख दिलबहादुर खत्रीले भने ‘प्रत्येक सवारी रोकर क्षमताभन्दा बढी यात्रु तथा मालसमान हालेको चेक र मादकपदार्थ सेवन गरेको समेत कडा रुपमा चेकिङ समेत गरीरहेका छौ ।’

त्यस्तै डडेल्धुरा बसपार्कमा सवारी साधनको नियमन गरी दुर्घटना न्यूनीकरण गर्दै यात्रुलाई सहज यात्राको लागि जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा ‘नागरिक सहायता कक्ष’ समेत स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ५२ नं. गुल्मको संयुक्त आयोजनामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

यात्रुबाट बढी भाडा लिएमा, यात्रुको समान हराएमा, सवारीसाधनमा बढी यात्रु राखेमा, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको पाएमा, आक्षरण सिटअनुसार यात्रुलाई नबसाइएको पाएमा सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले आग्रह गरेका छन् ।

‘सहायता कक्ष सञ्चानमा आएपछि चाडपर्वको बेला हुने विभिन्न समस्याहरु एवं यात्रुले सवारीसाधनबाट दैनिकरूपमा भोग्दै आएका समस्या कम हुने विश्वास लिएको छ’ उनले भने । सरकारले तोकेको भन्दा बढी भाडा यात्रुसँग सवारी साधनले लिने गरेको र सिट क्षमताभन्दा बढी कोच्ने समस्याले अन्य दुर्घटना निम्त्याउन सक्ने भएकाले सहायता कक्षको स्थापना गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरणमा सघाउन सवारी चालकलाई सम्मान समेत गरेको छ ।

सवारी दुर्घटना रोक्नका लागि सम्बद्ध पक्षले विभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु ग्रिरहने तर सार्वजनिक यातायातसंग सम्बद्ध व्यवसायी, सवारी चालक तथा यात्रा गर्ने यात्रुहरु सचेत नबन्दा यस्ता दुर्घटनाका जोखिम निम्तिने हुँदा सबै सचेत हुन आवश्यक छ ।