स्थानियतहका वेबसाइट अपडेट छैनन्

May 14, 2018

बैशाख ३१ गते ।

स्थानिय तहलाई विधुतीय सुशासन अन्तरगत ल्याउने उद्देश्यले डोटी जिल्लाका सबै स्थानिय तहहरुमा केन्द्रिय स्तरबाट नै वेबसाइट निर्माण गरिदिएको भए पनि वेबसाइटहरु नियमित अपडेट हुने गरेका छैनन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटीमा सबै स्थानिय तहहरुमा सबैका वेबसाइट छन् तर  त्यी वेबसाइटहरुमा कुनै पनि सुचना/जानकारी भने हालेको हुदैन ।

स्थानिय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधीहरुले काम सम्हालेको एक वर्ष पुग्नै लाग्दा पनि कतिपय स्थानिय तहको वेबसाइटमा को–को जनप्रतिनिधी छन् भन्ने जानकारी समेत राखिएको छैन । यति सम्मकी पंचायतकालमा नगरपंचायतको रुपमा रहेको हालको दिपयाल सिलगढी नगरपालिकाको वेबसाइटमा समेत नगर प्रमुख र उप्रमुखको नाम नै छैन । नगरपदाधिकारीको स्थानमा क्लिक गर्दा कर्मचारीहरुको नाम आउँन्छ ।

डोटी जिल्लाका सबै स्थानिय तहमा ईन्टरनेटको सहज पहुच छैन । ईन्टरनेटको सहज पहुंच भएका क्षेत्रका स्थानिय तहहरुले समेत वेबसाइटमा अपडेट गरेका छैनन् । दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासी परम्परागत सोच भएका कर्मचारीका कारण कार्यालयको काममा बाधा भईरहेको बताउनु हुन्छ । मेयर मलासीले भन्नु भयो – सबै कुरा एकै पटक हुन्छ भन्ने छैन, हामी लागि रहेका छौ । कर्मचारीलाई काममा नियमित गराउन केहि दिन अगाढी कार्यालयमा विधुतीय हाजिरको व्यवस्था गरे, एक हप्ता नपुग्दै त्यो बिग्रियो । वर्षौ देखि एकलौटी गरिरहेका कर्मचारीलाई जनप्रतिनिधी आए पछि उकुस मुकुस भएको छ ।
अधिकांश स्थानियतहरुमा सुचना प्रविधि अधिकृत र कम्प्युटर अपरेटरहरु नियुक्त गरिएका छन् । सुचना र संचार प्रविधि अधिकृतको रुपमा कम्प्युटर सम्बन्धी विषयमा स्नातक तह अध्ययन गरेका व्यक्तिहरु नियुक्त गरिएका छन् । जनशक्ति हुदा हुदै पनि लापरवाहीका कारण स्थानिय तहका वेबसाइटहरु नियमित अपडेट नभएको सेवाग्राहीहरुको गुनासो छ । नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश मौनी, सुचनाको हक सम्बन्धी ऐन र स्थानिय स्वायत्त शासन ऐनमा भएको व्यवस्था बमोजिम पनि सुशासन कायम गर्न स्थानिय तहले नियमित रुपमा वेबसाइट अपडेट गर्नु पर्ने तर त्यस्तो नगरेको बताउनुहुन्छ ।