तामाका भाँडा बनाएर जीविकोपार्जन

 
जगतदल जनाला बिक

पञ्चपुरी, १४ मंसिर 
रोजगारीको अवसर नपाएर वर्षेनी लाखौं युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन् । यद्यपि, केही व्यक्ति आफ्नै सीप प्रयोग गरी जीवन गुजारा गरिरहेका मात्र छैनन्, परिवार पनि राम्ररी चलाइरहेका छन् । यस्तै व्यक्तिहरूमध्ये एक हुन्, सुर्खेतको पञ्चपुरी नगरपालिका–२ का चन्द्र विक ।

उनले तामाका भाँडा बनाउने पेसा गर्छन् । सोही पेसाबाट पाँच जनाको परिवार राम्ररी पालेका छन् । ५२ वर्षीय चन्द्र १७ वर्षको उमेरदेखि नै तामाका भाँडाकुँडा बनाउँदै आएका छन् । परम्परागत रूपमै आफ्नो परिवारमा तामाका भाँडा बनाउने सीप नभए पनि बाहिरबाट आएका ताम्राकारले बनाएको देखेकै भरमा उनले सीप सिकेका हुन् ।

सडक छेउको खुला आकाशमुनी उनको तामाका भाँडाकुडा बनाउने आरन छ । त्यहीं बनाइएका तामाका गाग्री, ताउला, दमाह, माना, पाथी लगायतका सामग्री बेचेर आएको आम्दानीलाई उनले खर्च मात्र टारेका छैनन् बैंकमा बचत समेत गरेका छन् ।

छोरा–बुहारी सबै छुट्टिएर अलग्गै छन् । छोरीहरूको पनि विवाह भइसक्यो । छोराछोरीहरूले दुःख नगर्न भने पनि काम नगरी उनको मननै शान्त हुँदैन । उनी भन्छन् ‘यसै पेसाबाट आएको आम्दानीले आफूलाई आवश्यक जग्गा जोडेको छु, घर बनाएको छुँ । सबै छोरा–छोरीलाई माध्यमिक तहसम्म विद्यालयमा पनि पढाएँ ।’ छोराहरूलाई पनि यो काम सिकाउन खोज्दा झन्झटिलो काम भनेर आफ्नो बाटो हिँडेको उनी बताउँछन् । वर्षभरीका लागि पुग्ने अन्न, लत्ताकपडा, औषधि उपचार खर्च पनि यही पेसाबाट आएको आम्दानीले धानेको उनले बताए ।


यही कामको शिलशिलामा उनले अछाम, डोटी, दैलेख, कैलाली, कालिकोट लगायत विभिन्न जिल्लामा गइ घरदैलो मै पुगेर तामाका सामग्रीहरू बनाउने गरेका छन् । सानैदेखि यस पेसामा आवद्ध चन्द्र रोजगारीका लागि भारतको उत्तर प्रदेश (काला पहाड) पुगेका थिए । त्यहाँ उनले ढुङ्गा बोक्ने, गिट्टी कुट्ने काम गरे । तर अर्काको देशमा अपमानित भएर काम गर्नुभन्दा आफ्नो सीपलाई देखाएर मेहेनत गरी आफ्नै देशमा काम गर्छु लाग्यो । फेरि त्यहाँ उनलाई ठेकेदारले नेपाली कामदारमाथि गर्ने व्यवहार मन परेन । त्यसैले उनी स्वदेश फर्किए । अर्काको देशमा जति नै पसिना बगाएर काम गरे पनि मालिकले हेप्ने, होच्याउने कार्य गरेकाले आफ्नै देश फर्केको उनको भनाइ छ ।

नेपाल आएर तामाका माना, पाथी, ताउली, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरू बनाउन फेरि सुरु गरे । बजारमा विभिन्न किसिमका भाँडाकुडा पाइने भएपछि उनले बनाएका तामाका सामग्री बजार क्षेत्र र जिल्लाका विभिन्न गाउँमा पहिले जस्तै सहजै बिक्री गर्न नसकिएको बताए । विशेष गरी विवाह, पूजाको मौसममा तामाका भाँडाकुडा दान दिने भएकाले यो समयमा राम्रै कमाइ हुने गरेको छ । चन्द्रले एक किलो ग्राहककै तामाका सामग्री भए बनाएको ज्याला प्रतिकिलो एक हजार पाँच सय दरले बनाउने गरेका छन् ।

देशमै केही गर्ने उद्देश्यले काम गरिरहे पनि अहिलेसम्म आफ्नो पेसा–व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय तथा केन्द्र सरकारबाट सहयोग नपाएको उनको गुनासो छ । ‘अहिलेसम्म कुनै ठाउँबाट पनि सहयोग पाइएको छैन’, उनले भने, ‘यो पेसालाई दिगो र युवा पुस्तासम्म हस्तान्तरण गरी अगाडि बढाउनका लागि केही आर्थिक सहयोग पाए राम्रो हुन्थ्यो ।’

सरकारले सहयोग गरेमा आफ्नो व्यवसायलाई विस्तार गर्ने उनको योजना छ । गाउँघरको सरकारका रूपमा रहेको स्थानीय सरकारले पनि आफूलाई नहेरेको उनको आरोप छ । लोप हुँदै गइरहेको आरन पेसाको सम्वद्र्धनका लागि स्थानीय सरकारले विभिन्न किसिमका तालिमहरू दिनुपर्ने उनको सुझाव छ ।

अहिले तामाका भाँडा बनाउने पेसा संकटमा परिसकेको बताउँदै उनले त्यस पेसालाई संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । रोगजारीका लागि लाखौं लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सके आम्दानीका साथै देशमै स्वरोजगार बनी आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ ।