पाँच रुपैयामा व्यवसायिक तालिम

May 5, 2018

प्रेमबहादुर राम्जा
दाङ, २२ बैशाख । 

दाङ, २२ बैशाख । तपाईले कस्ता तालिम लिनुभएको छ ? कति शुल्क तिरेर तालिम लिनुभएको छ ? वा सशुल्कको तालिम लिनुभएको छ ? तर, दाङमा मासिक पाँच रुपैया शुल्क उठाएर महिलाहरुले ब्यवसायिक तथा क्षमता अभिवृद्धि तालिम लिइरहेकाछन् ।

दैनिक रुपमा रोजगारी नभएको कारण देखाउँदै एक हजार बढी युवाहरु विदेश गइरहेको समयमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रले दाङ, बाँके र सल्यानका महिलाहरुलाई व्यवसायिक तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरीरहेको छ । ग्रामीण महिला उत्थान केन्द्रले सञ्चालन गरेको लघुबित्त कार्यक्रममा सहभागी महिला समुहका सदस्यहरुलाई तालिम प्रदान गरीरहेको जनाइएकोछ ।

ग्रामीण महिला उत्थान केन्द्रले बार्षिक रुपमा बंगुर, बाख्रा, कुखुरापालन तथा च्याउ उत्पादनका लागि तालिम सञ्चालन गरीरहेको ग्रामीण महिला उत्थान केन्द्रका विनय चौधरीले जानकारी दिनुभएकोछ । लघुबित्तमा सहभागी महिला समुहका सदस्यहरुले मासिक रुपमा क्षमता अभिवृद्धिका लागि पाँच रुपैया जम्मा गरेको रकम र बाँकी सस्थाबाट तालिम ब्यबस्थापन गर्दै आएको ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमाणी चौधरीले जानकारी दिनुभएकोछ ।

महिला समुहमा सहभागी महिला सदस्यहरुको मागको आधारमा तालिम सञ्चालन गर्दै आएको संस्थाले जनाएकोछ । एक बर्षमा करिब दुई हजार बढी महिला सदस्यलाई तालिम दिने गरेको केन्द्रका अध्यक्ष चौधरीको भनाई रहेकोछ । तालिम पश्चात महिलाहरुले ब्यवहारमा लागु गर्ने गरेकाछन् ।

तालिममा बाख्रा, बंगुर र कुखुरापालन गर्दा ध्यान दिनुपर्ने विषय, दानापानी, स्याहारसुसार गर्ने तरिकाका बारेमा जानकारी दिने गरेको तालिम प्रशिक्षक विनय चौधरीले जानकारी दिनुभएको छ । तालिमले महिलाहरुलाई घरमा सामान्य काम गर्दा प्रयोग हुने गरेको प्रशिक्षक चौधरीको भनाई छ ।

ग्रामीण महिला उत्थान केन्द्रमा लघुबित्त कार्यक्रमका लागि १३ वटा शाखा रहेका छन् । १३ वटा शाखा अन्तर्गतका विभिन्न समुहका महिला सदस्यहरुलाई तालिम दिदै आएको जनाइएकोछ । स्थान अनुसारको तालिम हुने गरेको प्रशिक्षक चौधरीको भनाई रहेकोछ । महिलालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि तालिम सञ्चालन गर्दै आएको जनाइएको छ ।