बाँकेमा तीन ठाउँमा कोरोना हेल्थ डेस्क संचालन

Mar 13, 2020

रजनी योगी
फागुन ३०, बाँके
नेपालगञ्ज उप–महानगरपालिकाले कोरोनाको संक्रमण भित्रिन नदिन हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । हेल्थ डेस्क प्रभावकारी भए नभएको हिजो स्थलगत अनूगमन पनि गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहिवार हेल्थ डेस्कको स्थलगत अनूगमन गरेपछि प्रभावकारी रुपमा सञ्चालन भएको पाईएको छ । महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत रामवहादुर नेपालीले बाँकेको जमुनाह नाका र नेपालगञ्ज विमानस्थलमा सञ्चालनमा रहेको हेल्थ डेस्कको अनूगमन गर्नुभएको हो । सो क्रममा विकले स्वास्थ्यकर्मीसँग समेत परीक्षणका विषयमा छलफल गर्नुभएको थियो ।
बरिष्ठ जन स्वास्थ्य अधिकृत नेपालीलाई नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले आवश्यक उपकरण र श्रोत साधनको अभावका बीच पनि स्वास्थ्यकर्मीले नियमित रुपमा हेल्थडेस्कबाट सेवा दिदै आएको बताउनुभयो । चन्दले संक्रमित विरामीको थप उपचार र अनुसन्धानका लागि अन्य स्वास्थ्य संस्थासँग समन्वयका लागि महाशाखाको ध्यानाकर्षण गराउँदै स्थानीय सरकारले आफनाे तर्फबाट सम्पूर्ण तयारी गरेको जानकारी दिनुभयो । चन्दले स्वास्थ्यकर्मीका लागि आवश्यक श्रोत साधन र उपकरणका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । स्वास्थ्य शाखा प्रमुख चन्दले विमानस्थल र नाकामा विहानदेख रातीसम्म हेल्थ डेस्क सञ्चालन भईरहेको बताउनुभयो । बाँकेमा जमुनाह नाका, नेपालगञ्ज विमानस्थल र नेपालगञ्ज उप–महानगरपालिका कार्यालयमा गरि तीन ठाउँमा हेल्थडेस्क सञ्चालनमा ल्याईएको छ ।