बैतडी: सिडिओ र डिएसपी मास्क बाड्दै हिडेंपछि...

Aug 8, 2020

विनोद सिंह विष्ट

बैतडी, साउन २४

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन साउन ६ गते अन्त्य भयो । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको थियो । ४ महिना लामो लकडाउनले दैनिक जीवनस्तरमा असर पारेको भन्दै सरकारले साउन ७ गतेदेखि लकडाउन खोल्यो । लकडाउन खुलेसंगै बजार क्षेत्रमा भिडभाड बढ्न थाल्यो । साथै स्वास्थ्य सुरक्षा सतर्कता नअपाएर भिडभाड हुन थालेको छ । सरकारले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । तर सरकारको अनुरोधलाई यहाँका स्थानीय बासिन्दाले अटेरी गरिरहेका छन् ।

संक्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन गरिएको आग्रह गरिएपछि बैतडीका सरोकारवाला निकाय आफैं मास्क बितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गर्न थालेका छन् । जिल्लाका मुख्य बजार पाटन र देहिमाडौंमा मास्क वितरण गरिएको छ भने अन्य बजारमा पनि गरिने जनाइएको छ ।जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी आफैं मास्क वितरण गर्न थाल्नुभएको छ । प्रजिअ जोशी जिल्लाका मुख्यमुख्य बजार क्षेत्र तथा भिडभाड बढी हुने क्षेत्रमा मास्क बाड्न लाग्नुभएको हो ।

बन्दाबन्दी अन्त्य गरेको घोषणा गरेपनि कोरोना संक्रमण यथावत रहेको र सर्वसाधारणहरु कोरोना रोग निर्मुल भए झै जमघट हुने, भेला हुने र बिना मास्क हिडडुल गर्न थालेपछि मास्क वितरण गर्न थालिएको प्रजिअ जोशीले बताउनुभयो । मास्क प्रयोग नगर्नेहरुलाई अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुका साथै मास्क समेत वितरण गरिएको छ उहाँले भन्नुभयो, “संक्रमण जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छौं” ।

बजारमा दिनानुदिन भिडभाड बढदै गएको र चहलपहल क्रमश बढदै जादा कोरोना संक्रमण समुदायसम्म फैलने सम्भावना भएकाले घरबाट बाहिर निस्कदा मान्छेहरुसंग सम्पर्क भएर कोहि कसैलाई कोेरोना भए अर्को व्यक्ति तथा समुदायमा फैलने सम्भावना भएकाले मास्कको अनिवार्य प्रयोगका लागी जनचेतना दिने उद्देश्यले मास्क वितरण गर्न थालिएका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा धेरैजसो स्थानीय बासिन्दा तथा पसलेहरुले समेत मास्क प्रयोग नगरेको पाईएकोले मास्क लगाउन सचेतना गराएका छौं” ।

सरकारले लगाउदै आएकोे लकडाउन पो अन्त्य गरिएको हो तर जनमानसमा कोरोना अन्त्य भएको झै भान भएर मास्क नलगाई हिडडुल गर्ने, भेला जमघट हुने, सामाजिक दुरी पालना नगर्ने र पर्व परम्पराहरु निर्वाह संचालन गर्ने जस्ता कार्य बढ्न थालेकाले यस्ता कार्य नियन्त्रण गरि कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउन सर्वसाधारणहरुमा सचेतना आओस भनेर बजारमा मास्क वितरण गरिएको बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मास्क प्रयोग गर्न अटेरी गरेका केहीलाई जरिवाना समेत गरिएको छ” ।

कोरोना संक्रमण जोखिम कम गर्न मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेमा सशस्त्र प्रहरी बल नेपाल नंम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायव उपरिक्षक अमित सिंहको जोड रहेको छ । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा सामाजिक दुरी कामय नगरेको पाइएकोले सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरिएको छ” ।

लकडाउन खुलेसंगै बैतडीमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सुरक्षा सतर्कता नअपनाए झनै संक्रमणको जोखिम बढ्ने देखिन्छ” ।

हिन्दु महिलाहरुको पर्व हरितालिका तीज र सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसंगै बजारमा झनै भिडभाड बढेको हो ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा नराखी बजारक्षेत्रमा अनावश्यक भिडभाड बढेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाह बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यको ख्यालै नगरि अनावश्यक भिडभाडले जोखिम निम्याइरहेको छ ।”
मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसका साथै ७०० जनालाई मास्क वितरण गरेको छ ।

बैतडीमा हालसम्म ३१९ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये ३०४ जना घर फर्किसकेका छन् । सुर्नया गाउँपालिकाका १२ जना र पाटन नगरपालिकाका ३ जना गरी १५ जना मात्रै आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।