स्थानिय तहको विकासमा पारदर्शिता र जवाफदेहिता खोज्न श्रोता समुहको कृयाशिलता

Feb 12, 2018

स्थानिय तहको विकास निर्माणमा पारदर्शिता, सुशासन, जवाफदेहिता खोज्न अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वति माविमा अध्ययनरत विद्यार्थीहरुले रेडियो श्रोता समुह गठन गरेका छन् । विद्यार्थीहरुले भगवति असलशासन रेडियो श्रोता क्लवको गठन गरि स्थानिय स्तरमा सुशासन र जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कृयाकलाप गर्ने जमर्को गरेका हुन् । 

विशेषगरी स्थानिय तहको सुशासन, पारदर्शिता र जवाफदेहितामा नागरिक समाज र सेवाप्रदायक सरकारी निकायको आपसी सहकार्य सम्बन्धी छलफल हुने रेडियो कार्यक्रम साझाबोली सुन्दै समुदायमा छलफल गर्ने र ब्यवहारमा उतार्ने उदेश्यले छत्रदेव गाउँपालिकाका यी स्थानिय युवाहरु एकजुट भएका हुन् । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखासंगको सहकार्यमा रेडियो श्रोता समुहको गठन गरिएको हो ।

समाजमा भएका शिक्षा, स्वास्थ्य कृषि, प्रकोप व्यवस्थापन, सुशासन र जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यका साथ श्रोता समुहको गठन गरिएको हो रोहित पाण्डेको अध्यक्षतामा १८ सदस्यीय समिति बनाइएको हो । जसको उपाध्यक्षमा सुष्पा पाण्डे, सचिवमा कृष्ण पाण्डे, सह–सचिवमा इसा मरासिनी र कोषाध्यक्षमा रबिन सुनार रहनुभएको छ । भेलाले मञ्जु पाण्डे सहजकर्ताको जिम्मेवारी समेत दिएको छ ।

कार्यक्रममा बोल्दै सरस्वति माविका सहायक प्राचार्य मनिराम पाण्डेले रेडियो श्रोता समुहलाई क्रियाशील बनाउदै नमुना श्रोता समुह बनाउनुपर्नेमा जोड दिनुभयो । सहायक प्राचार्य पाण्डेले रेडियो श्रोता समुहले गाउँ समाजको विकास र चेतना अभिवृद्धिको लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले आफ्नो भरपुर सहयोग रहने बताउनुभयो । सो अवसरमा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाका अध्यक्ष हृदयकुमार भुषालले गठित रेडियो श्रोता क्लवले हरेक महिनाको दुईपटक रेडियो कार्यक्रम साझाबोली सुन्ने र प्रतिक्रिया तथा सल्लाह सुझाव दिने अपेक्षा रहेको बताउनुभयो ।