बैतडीको तल्लोसोराडबासी महाकाली नदीमा जोखिम मोलेर डुंगाबाट वारपार गर्न बाध्य

Sep 8, 2019

जयराज अवस्थी
बैतडी, भदौ २२

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकहरु प्रत्येक बर्षको बर्षातमा झैं यो बर्ष पनि महाकाली नदीमा जोखिम मोलेर डुंगाबाट नदी वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा स्थानीय नागरीकहरु जोखिम मोलेरै डुंगाबाट ओहोरदोहर गर्न बाध्य भएका छन् ।
तल्लोसोराड क्षेत्रका नागरिकहरुले दैनिक उपभोग्य सामग्री देखि लिएर उपचारका लागि समेत सीमावर्ती भारतीय बजारमा निर्भर हुनुपरेकाले डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय शिक्षक महामलसिंह साउँदले बताउनुभयो । बर्षातको समयमा डुंगाबाट नदी आवतजावत गर्न निकै डर लाग्ने गरेको उहाँले गुनासो गर्नुभयो । बैतडीको तल्लोसोराड क्षेत्रमा करीब ६ भन्दा बढी घाटमा डुंगाबाटै सो क्षेत्रका नागरीकहरु ओहोरदोहर गर्ने गरेका छन् । सो क्षेत्रमा पुल नहुदा बर्षातको समयमा डुंगाकै भरले महाकाली नदी तर्नुपर्ने बाध्यता रही आएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
वि:स २०७४ सालमा पञ्चेश्वर महाकाली नदीमाथि पुल बनाउने भनेर ठेक्का भएको भएपनि भारतले सहमति नदिँदा सो क्षेत्रमा अहिलेसम्म पनि पुल बन्न नसकेको स्थानीयहरुले बताएका छन् । अहिले आएर पुलको ठेक्का समेत रद्द भईसकेको अध्यक्ष चन्दले बताउनुभयो । भारतले पञ्चेश्वरको डुबान क्षेत्रमा झोलुंगे पुल बन्न लागेको भन्दै सहमति नदिएको बताइएको छ । तल्लोसोराड क्षेत्रमा कच्ची सडक भएकाले बर्षातको समयमा हरेक चिजका लागि भारतीय बजारमै त्याहाका नागरीकहरुले निर्भर रहनु परेको छ । महाकाली नदीमा डुंगाको भरमा यात्रा गर्न थालेको बर्षौं भएपनि पुल निर्माणका लागि सरकारले चासो नदिएको स्थानीयहरुले बताएका छन् । तल्लोसोराडबासीको पीडा आफूले परराष्ट्र मन्त्रालयमा भनेको भएपनि अहिले सम्म समस्या समाधान हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताउनुभयो । तल्लोसोराडमा पुल निर्माण भएमा सो क्षेत्रका नागरीकहरुलाइ सहज हुने विश्वास गरीएको छ ।