मेसिन बिग्रदाँ सिकलसेलका बिरामीलाई समस्या

May 11, 2019

रजनी योगी

बैशाख २८, बाँके

प्रादेशिक अस्पताल (भेरी अन्चल अस्पताल) नेपालगन्जमा रहेकाे सिकलसेल एनिमिया रोग जाँच गर्ने मेसिन तीन महिना देखि बिग्रदाँ सेवाग्राहीहरु मर्कामा परेका छन । एचबि ईलोक्ट्रोफोरेसिस मेसिन समयमै मर्मत सम्भार नहुँदा सिकलसेल एनिमियाका बिरामीहरु स्वास्थ्य जाँचबाट बन्चित हुनु परेको हो ।

मेसिन मर्मत नहुँदा नेपालको संविधानले प्रत्याभुत गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभावकारी, गुणस्तरिय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुँच स्थापित हुने हक बन्चित भएकाे बताइएकाे छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य कृष्णमुरारी प्रसाद भट्ट, लक्ष्मी तिवारी र अल्का मिश्रले भेरी प्रादेशिक अस्पतालमा सिकलसेल एनिमिया जाँच गर्ने मेशिन एचबि ईलोक्ट्रोफोरेसिस र सिकलेसल एनिमियाको बिरामीको संख्या बारे सूचना माग गर्नुभएको थियो ।

सूचनाको जवाफ दिदै भेरी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले गत फागुन महिना देखि सिकलसेल एनिमिया रोग जाँच गर्ने मेशिन एचबि ईलोक्ट्रोफोरेसिस मर्मत गर्नु पर्ने भएको तर दक्ष इन्जिनियर नभएको बताउनुभयो ।

हाल सामाजिक सेवा इकाईमा ६ सय ६५ जना सिकलसेल एनिमियाको बिरामीहरुले विपन्न् नागरिक उपचार निर्दे्शिका अनुसार एक लाख बराबरको सेवा पाईरहेका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले आफुहरुले सिकलसेल एनिमियाको बिरामीहरुको स्वास्थ्यमा सहज रुपमा उपचारको ब्यवस्थाकालागि बाँके र बर्दियाका पैरवी गरिरहेको जानकारी दिनुभयो ।