बैतडीमा किसानहरुलाई जैतुनको बिरुवा वितरण गरिने

Sep 6, 2019

जयराज अवस्थी/बैतडी/भदौ २०
बैतडीमा पहिलो पटक किसानहरुलाई जैतुनको बिरुवा वितरण गरिने भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझले आफ्नो नर्सरी जैतुनको बिरुवा उत्पादन गरेकाले यो बर्षदेखि जैतुनको बिरुवा वितरण गरिने सुख्खा पलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो ।
नर्सरीमा ७ सय बढी जैतुनको बिरुवा राखिएको उहाँले बताउनुभयो । उन्नत जातको जैतुनको बिरुवा नर्सरीमा राखिएको खड्काले बताउनुभयो । जैतुन बिरुवा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न स्थानीय तहहरुको समन्वयमा अनुदानमा समेत वितरण गर्न सक्ने उहाँले बताउनुभयो । जैतुनको बिरुवा हिउँदमा रोप्नुपर्ने भएकाले आउँदो हिउँदमा किसानहरुलाई बिरुवा वितरण गर्ने उहाँले बताउनुभयो । जैतुनको तेल निकै महंगो हुने भएकाले किसानहरुलाई जैतुन खेतीमा आकर्षित गराउन सुख्खा फलफूल विकास केन्द्रले नर्सरीमा जैतुनको बिरुवा राखेको प्राविधिक खड्काले बताउनुभयो ।
जैतुनको तेल खान, औषधिको रुपमा प्रयोग गर्न र अन्य कस्मेटिक सामग्रीहरुमा पनि प्रयोग गर्न सकिने भएकाले निकै महंगो हुने बताइएको छ ।