सामुदायिक विद्यालयले चार सय १३ विद्यार्थीबाट लिएको शुल्क विद्यार्थीलाइ फिर्ता

Jul 8, 2019

मनिष खड्का
असार २३, रुकुम पश्चिम

मुसीकोट नगरपालिका १ खलंगामा रहेको त्रिभुवन जनता माविले बिद्यार्थीबाट लिएको शुल्क फिर्ता गरेको छ । कक्षा ६ देखि १० सम्म अध्यनरत बिद्यार्थीबाट भर्ना हुँदा लिएको शुल्क बिद्यालयले फिर्ता गरेको हो । बिद्यालयले चार सय १३ जना बिद्यार्थीबाट चार लाख ७९ हजार पाँच सय रुपैंया उठाएको थियो । ६ देखि १० कक्षा सम्म ६ सय ७३ जना विद्यार्थी अध्यनरत रहेकामा चार सय १३ जना बिद्यार्थीबाट अभिभावक शुल्कका नाममा पैसा उठाईएको थियो ।

कक्षा ६ मा अध्यनरत ६५ मध्ये ५० जना विद्यार्थीबाट प्रति बिद्यार्थी नौं सयका दरले ४५ हजार, कक्षा ७ मा अध्यनरत ८७ मध्ये ६० जना बिद्यार्थीबाट प्रति बिद्यार्थी एक हजारका दरले ६० हजार, कक्षा आठमा अध्यनरत एक सय ३७ जना मध्ये ९७ जना बिद्यार्थीबाट प्रति बिद्यार्थी एक हजार एक सयका दरले एक लाख ६ हजार सात सय रुपैंया उठाईएको थियो ।

त्यस्तै बिद्यालयले कक्षा नौं मा अध्यनरत दुई सय नौं मध्ये ६३ जना बिद्यार्थीबाट प्रति बिद्यार्थी ८१ हजार नौं सय र कक्षा १० मा अध्यनरत एक सय ७६ जना बिद्यार्थी मध्येमा एक सय ४३ बिद्यार्थीबाट प्रति बिद्यार्थी एक हजार तीन सयका दरले एक लाख ८५ हजार नौं सय शुल्क असुल गरेको थियो ।

सुरुमा भर्ना भएका चार सय १३ जना बिद्यार्थीबाट शुल्क उठाएको अवस्थामा नगरपालिकाले शुल्क नउठाउन र उठाएको शुल्क पनि फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसपछि भर्ना हुने बिद्यार्थीबाट बिद्यालयले शुल्क उठाएन भने उठाएको शुल्क पनि फिर्ता गरेको हो । बिद्यार्थीबाट उठाएको शुल्क फिर्ता गरिएको प्रध्यानाध्यापक हरिप्रसाद खनालले जानकारी दिए । अभिभावक भेलाबाट निर्णय गरेर उठाईएको शुल्क बिद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर फिर्ता गरिएको उनले बताए ।

नीजि स्रोतबाट राखिएका शिक्षक तथा कर्मचारीको तलब र बिद्यालयको अन्य व्यवस्थापन खर्चका लागि भर्ना शुल्क नभई अभिभावक शुल्क उठाईएको प्रअ खनालको भनाई छ । उनका अनुसार हाल बिद्यालयमा १४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । ‘यसका अतिरिक्त बिद्यालयले आफ्नो आन्तरिक स्रोतबाट कम्युटर ल्याब, डिजिटल हाजिरी लगायतको व्यवस्था गरेकाले पनि अभिभावकहरुबाट सामान्य शुल्क उठाउन खोजिएको हो,’ उनले भने, ‘नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने र शुल्क नउठाउन तथा उठाएको शुल्क फिर्ता गर्न भनेपछि हामिले शुल्क फिर्ता गरेका हौं ।’

सरकारले माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क बनाएको अवस्थामा पनि जिल्लाकै जेठो बिद्यालयले शुल्क उठाउन नछाडेको भन्दै अभिभावक तथा बिद्यार्थीहरु असन्तुष्ट भएका थिए । तर बिद्यालयले बिद्यार्थीबाट असुल गरेको शुल्क फिर्ता गरेपछि बिद्यालयको यस कदमलाई सकारात्मक रुपमा लिईएको छ ।