बैतडीको डिलाशैनी गाउँपालिकाले पालिकाभरीका स्वास्थ्य संस्थामा प्रयोगशाला संञ्चालन गर्ने

Aug 17, 2019

जयराज अवस्थी/बैतडी,साउन ३२
बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँपालिकाभरीका प्रत्येक स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाको रुद्रेश्वर स्वासथ्यचौकीमा पहिलादेखि नै प्रयोगशाला सेवा सञ्चालनमा आएको चारओटा स्वास्थ्य संस्थामा यो बर्षदेखि प्रयोगशाला सेवा सञ्चालनमा ल्याउने तयारी भएको गाउँपालिकाका स्वासथ्य संयोजक रामसिंह खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाको गोकुलेश्वर, डिलाशैनी, कोटपेटरा र हाडाकोट स्वासथ्यचौकीमा प्रयोशाला सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । स्वास्थ्यचौकीहरुमा प्रयोगशाला सेवा सञ्चालनमा ल्याउनका लागि गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्य संस्थामा प्रयोगशाला सञ्चालनमा ल्याएपछि विभिन्न जाँचका लागि सजिलो हुने संयोजक खत्रीले बताउनुभयो ।
गाँउपालिकाले संञ्चालन गर्ने प्रयोगशालामा रगतजाँच, दिसापिसाब जाँच, खकार परीक्षण लगायत सेवा सञ्चालन हुने बताइएको छ । समान्य जाँचका लागि गाँउपालिकाभित्रका नागरिकहरुले बाहिर जान नपरोस भन्ने हेतुले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउने लागेको गाउँपालिकाले जनाएको छ । यसरी गाँउपालिकाले प्रयोगशाला संञ्चालनमा ल्याएमा डिलशैनीका नागरीकहरुले आफ्नै ठाँउमा सेवा पाउनेछन् ।