भूकम्पस्मृति पार्क बनेन, करोड खर्चेको निर्माण स्थलमा झार उम्रेर बस्यो

Oct 15, 2020

दिपक खत्री,असोज २९
सिन्धुपाल्चोक, भूकम्पका कारण १४ जिल्ला मध्ये सवैभन्दा धेरै जनधनको क्षति भएको सिन्धुपाल्चोकमा प्रस्ताव गरिएको भूकम्प स्मृतिपार्क सिलान्यास गरेको चार वर्ष बित्दा पनि निर्माण पूरा हुन सकेको छैन । एक करोड खर्चेर लगाएको तारबार निर्माण स्थलमा उम्रेको झार र बोटबिरुवा छेक्न लगाएको जस्तो भन्दै जिल्लामा आलोचना हुन थालेको छ ।

जुन स्थालमा सिलान्यास गरियो त्यसलाई तारबारले छेकेको पनि छैन । सामुदायिक वनको जग्गा अधिग्रहण गरेर स्वामित्व प्राप्त गर्न नसक्दा पार्कको निर्माण रोकिएको हो ।सदरमुकाम नजिकैको पात्लेपानीको जंगलमा प्रस्ताव गरिएको उद्यानको २०७३ साल बैशाखमा तत्कालिन वनमन्त्री अग्नीप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङले संयुक्त रुपमा सिलान्यास गरेका थिए ।निर्माणका लागि सांसद तामाङको संयोजकत्वमा भूकम्प स्मारक पार्क समन्वय तथा सहजीकरण समिति गठन गरेर प्रक्रिया अघि बढाइएको थियो ।अहिले पूर्वसांसद सुभाष कर्मचार्यलाई संयोजक तोकिएको छ । भगवती सामुदायिक वन अन्तर्गतको करिव साँढे चार हेक्टर जमिनमा निर्माण गर्न लागेको पार्ककालागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना रिपोर्ट९डिपिआर० तयार गरी बर्सेनि बजेट विनियोजन गरेपनि काम हुन सकेको छैन ।


निर्माणको जिम्मेवारी पाएको प्राधिकरणको म्याद नै समाप्त हुन लाग्दापनि पार्क बन्न नसकेपछि अन्यौल सिर्जना भएको छ । स्मारकमा भूकम्पमा परेर निधन भएको सवै जनाको नामावली राख्ने योजना रहेको छ । प्रहरीका अनुसार भूकम्पबाट जिल्लाभर तीनहजार पाँच सय ६२ जनाको निधन भएको थियो । करिव ५० करोड लागत अनुमान गरिएको उक्त पार्ककालागि चालू वर्षमा दुई करोड विनियोजन गरिएको छ ।
यस अघि पनि एउटै आर्थिक वर्षमा १० करोडसम्म बजेट बिनियोजन गरेपनि खर्च गर्न नसक्दा‘फ्रिज’हुने गरेको थियो । जग्गा प्राप्तिको प्रक्रिया पूरा नभएपनि निर्माण स्थललाई एक करोड खर्चेर तारबार लगाएर राखिएको छ ।


जग्गाप्राप्त गर्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजानुपर्छ । मन्त्रीपरिषद्ले स्विकृती नदिई प्राप्तगर्न सकिँदैन । तर प्राथमिकता प्राप्त आयोजना भित्र पारेर प्राधिकरणले नै पहल गर्दा जग्गा प्राप्ति छिटो गर्न सकिने संयोजक कर्मचार्यले बताए । वन लगायतका कार्यालयसँग भइरहेको छलफल सकरात्मक रहेकाले अव काम शुरु गर्ने दिन नजिक रहेको कर्मचार्यको भनाई छ ।