घुम्ती शिविरबाट करिब ५ हजारले सेवा लिए

Jan 10, 2019

अछाम, पुस २६ 

अछामको रामारोशन गाउँपालिकामा ३ दिनसम्म सञ्चालन भएको वृहत घुम्ति शिविरवाट करिब ५ हजार नागरिकले सेवा लिएका छन् ।

पुष २२ गते देखि २४ गतेसम्म मुजाबगरमा सञ्चालन भएको शिविरमा ४ हजार ७ सय ९३ जना नागरिकले सेवा लिएका हुन् । रामारोशन गाउँपालिका र सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजना र सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको समन्वयमा एकीकृत धुम्ती तथा स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरमा ३ सय ८७ जनालाई नेपाली नागरिकता वितरण, २१ जनालाई अपाङ्गता परिचयपत्र सिफारिस तथा ३ सय ५१ जनाको फोटो सहितको मतदाता नामावली संकलन गरिएको छ । यस्तै ३ सय ७२ जनाले पशुसेवा, एक सय ५५ जना किसानले बाली प्रर्दशन, ४ सय ६३ जनालाई बिउबिजन वितरण, ४ सय ७३ जनालाई परामर्श सेवा, दुई सय २९ जनालाई बहुक्षेत्रीय पोेषण योजना अन्तर्गत पोषण परामर्श र २१ जनाले घरेलु तथा साना उद्योग दर्ता गराएको रामारोशन गाउँपालिकाका सुचना अधिकृत बुद्धिबहादुर साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य तर्फ ४ सय ८८ जनाले मेडिसिन उपचार सेवा, चार सय ३७ जनाले हाडजोर्नी र नशा सम्बन्धी सेवा, ३ सय १७ जनाले नाँक, कान, घाँटी र दन्त सेवा लिएका छन् । यस्तै ३ सय ६७ जनाले स्त्रीरोग सेवा, ३ सय ७७ जनाले भिडियो एक्सरे सेवा, ३ सय ९० जनाले प्रयोगशाला ल्याब सेवा र १ सय ४५ जनाले आयुवेर्दिक सेवा लिएका छन् ।