दुर्गमको पिडा: सुत्केरी ब्यथा लागेको तीन दिनपछि उद्धार

Aug 10, 2018

धनवीर दाहाल
श्रावण २५, रुकुम पुर्व

पुथा उत्तरगंगा गाँउपालिका ६ की मालिका नेपालीलाई साउन २१ गते बेलुकादेखि सुत्केरी व्यथा लाग्यो । नजिकै स्वास्थ्य चौकी नभएपछि स्वास्थ्य संस्था लाैजान सक्ने अवस्था थिएन ।

कामको सिलसिलामा उनका श्रीमान मुस्ताङमा रहेकोले आफन्त उनको साथमा रहे पनि स्वास्थ्य संस्था नजिक नभएकोले कहाँ लिने के गर्ने अन्यौलमा परिवार रह्यो । व्यथाले मालिकालाई झन च्याप्दै गएपछि उनकाआफन्तले रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई खबर गरे ।

खबर पाए लगत्तै प्रजिअ शर्माले नेपाली सेनालाई आग्रह गरेर हेलिकप्टर बोलाएको बताउनुभयाे । मालिकाको उद्धारको लागि सुर्खेतबाट आएको हेलिकप्टर प्रतिकुल मौसमका कारण पहिलो पटक पुथा ६ मयाङमा अवतरण हुन नसकी सदरमुकाम रुकुमकोट फर्केको थियो । त्यसको आधा घण्टा पछि फेरी दोस्रो पटक रुकुमकोटबाट हेलिकोप्टर मयाङ् अवतरण गरेर उनलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयाे ।

बिरामीको आर्थिक अवस्था कमजाेर भएका कारण सबै खर्च सरकारले नै व्यहोर्ने प्रजिअ शर्माले बताउनुभयाे । सुत्केरी व्यथा लागेको तीन दिनपछि उनलाई अस्पताल र्पुयाइएको हो ।