बर्दियाका सबै पालिकामा कोभिड १९ विरुद्धको भेरोसेल खोप श्रावण ६ गते लगाउने तयारी

Jul 17, 2021

साउन १ गते
बर्दियामा कोभिड १९ विरुद्धको भेरोसेल खोप श्रावण ६ गते बर्दियाका सबै पालिकाहरुमा लगाउने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागी जिल्ला समन्वयात्यमक बैठक सम्पन्न भएको छ । ५५ वर्ष देखि माथी उमेर समुहका सवै व्यक्तिहरु, गाडिका चालक सहचालक, प्राध्यापक शिक्षक र यस भन्दा अगाडि लगाउन छुट भएका समुहका व्यक्तिहरुलाई लक्षित गरी भेरोसेल खोप लगाउने तयारी गरिएको छ ।

हाललाई २६ हजार डोज बर्दियाका लागी आइसकेको र त्यसको भण्डारणको व्यवस्था गरिएको कुरा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । साथै, यसपछि लगत्तै ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई जोन्सन एण्ड जोन्सन आएपछि लगाइने जानकारी गराउनु भयो । थारु महिला उत्थान केन्द्रको आयोजनामा गरिएको उक्त जिल्ला कोभिड खोप व्यवस्थापन तथा अनुगमन समिति समन्वयात्यमक बैठकमा अध्यक्षता गरिरहनु भएका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कोभिड १९ को विरुद्धको कार्यक्रमका लागी बर्दियामा विभिन्न गैरसरकारी संस्थाहरुले सहयोग गरेकोमा सराहना गर्नुभयो ।

समुदायमा लगाइने खोपका लागी थारु महिला उत्थान केन्द्र लगायतका सस्थाहरुले सहजीकरण सहयोगका लागी भुमिका निर्वाह गर्ने भएकोमा धन्यवाद दिनु भएको थियो । थारु महिला उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक तेजमणि पन्थले कार्यक्रमको विषयमा सहजीकरण गर्दै बर्दिया जिल्लाका ५ वटा नगरपालिका र दुइ वटा गाँउपालिकामा श्रावण ६ गते देखि लगाउने भेरोसील खोपका लागी सस्थाले सहजीकरणका विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । प्रत्येक पालिकाका ३ वटा खोप केन्द्रमा सेवा ग्राहिका लागी पिउने पानिको व्यवस्था छायाको लागी त्रीपाल लगायतका कार्यहरु गरिने भएको छ ।

त्यसका लागी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिई परिचालन गरिने बताउनुभयो । त्यसैगरी दलित महिला उत्थान संघले पनि गुलरिया, मधुवन र राजापुर नगरपालिकाका गरी १४ वटा वडामा खोप अभियान कार्यक्रमलाई सहजीकरण गर्ने कार्यक्रम रहेको जानकारी सो संस्थाका कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी गराउनुभयो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।