बैतडीको दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरीने

Nov 27, 2020


जयराज अवस्थी/बैतडी,मंसिर १२
कोरोनाको जोखिम बढ्दै गएको भन्दै बैतडीको दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ । शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले भोली शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाभित्र १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो । लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।
यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।ै नगर क्षेत्रभित्रका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षा बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, बिवाहमा १० जना मात्रै सहभागी हुन दिने लगायतका निर्णय गरेको छ ।
लकडाउनको अवधिमा औषधि पसल भने खोल्न पाइनेछन् भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ । नगर क्षेत्रमा कोरोना भाईरसको जोखिम बढ्दै गएको र यसको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।