नेपालगन्जमा छात्रा क्याम्पस बन्ने

Mar 2, 2019

रजनी योगी
फाल्गुन १८, बाँके
मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगन्जमा छात्रा क्याम्पस बन्ने भएको छ । मधेसी तथा मुस्लिम समुदायका बालिकाहरुको उच्च शिक्षामा पहुँच वृद्धि गर्नका लागि छुट्टै छात्रा क्याम्पस बनाउनका लागि नेपालगन्ज उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाका अनुसार उक्त छात्रा क्याम्पस निर्माणका लागि आठ करोड बजेट विनियोजन गरिएको छ । मेयर राणाका अनुसार हाल डिपिआर निर्माण चरणमा रहेको छात्रा क्याम्पसको निर्माण कार्य दुई महिनाभित्र सुरु हुनेछ ।

नेपालगञ्जमा छात्रा मात्रै पढाई हुने सरस्वती माध्यामिक बिद्यालय र मुस्लिम समुदायको आइसा मदरसा पनि छन् । यी दुई बिद्यालयमा माध्यमिक तह सम्म मात्रै पढाई हुन्छ । सांस्कृतिक र धार्मिक कारण मुस्लिम र मधेसी समुदायका छात्राहरु उच्च शिक्षाबाट बञ्चित हुन नपरोस भनेर छात्रा क्याम्पसको निर्माण गर्न थालिएको मेयर राणाले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा छात्रा क्याम्पस स्थापना भए पछि मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने ठानिएको छ । नेपालगञ्जमा छात्रा क्याम्पस स्थापना भए मुस्लिम समुदायका छात्राहरुको सजिलै उच्च शिक्षामा पहुँच हुने मुस्लिम अगुवाहरुको पनि भनाई छ ।

नेपालगञ्जमा मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायलाई लक्षित गरेर छात्रा क्याम्पस स्थापना हुने खबरले मुस्लिम र मधेसी समुदायका छात्राहरु हर्षित देखिन्छन् । अब छात्रा क्याम्पस स्थापना भए पछि बिगतका दिनमा जस्तै अभिभावकले उच्च शिक्षाका लागि बँञ्चित गराउन नपाउने उनीहरुको भनाई छ । नेपालगञ्जमा स्थापना हुने छात्रा कलेजले छात्रा र छात्र संगै पढ्नु हुदैन भन्ने परम्परागत समस्याको समाधान हुने भएको छ ।

नेपालगन्जमा छात्रा क्याम्पस सन्चालनमा आएपछि छात्राहरुलाई उच्च शिक्षाका लागि समस्या नहुने सरस्वती माध्यमिक बिद्यालय नेपालगन्जका प्रधानअध्यापक सुरेशकुमार परसैला बताउनुहुन्छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहम्मद अयुब सिद्दिकीछात्रा क्याम्पस बनिसकेपछि मधेसी र मुस्लिम समुदायका अभिभावकहरु आफ्ना छोरीहरुलाई उच्च शिक्षा हासिल गराउनबाटपञ्छिन नपाउने धारणा राख्नुहुन्छ ।

नेपालगञ्जको मंगलप्रसाद मध्यामिक बिद्यालयको खाली ठाउँमा ४० कोठाको छात्रा क्याम्पस स्थापना गर्ने योजना छ । छात्रा क्याम्पस संञ्चाल गर्ने सम्बन्धमा अनुसन्धान भैरहेको छ । क्याम्पस महिला कर्मचारीले मात्रै संञ्चालन गर्ने योजना छ । छात्रा क्याम्पस संञ्चालनमा आए पछि मुस्लिम र मधेसी छात्राहरुलाई उच्च शिक्षा लिन बाटो खुल्ने मदरसा दरुल बरकतियाका संस्थापक प्रधानअध्यापक मौलाना जियाउल मुस्तफा नुरानी बताउनुहुन्छ ।

Member Comment
Bnay Mhj
sahi ho
2 months ago