घुम्ती शिविरबाट घरदैलोमै सेवा लिदै नागरिक


तिर्थमाया तामाङ

रामेछाप, पुस २८ 

जिल्ला प्रशासन कार्यालय रामेछापले अहिले स्थानीय तहसँगको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

त्यसै अन्र्तगत यही पुस २६ र २७ गते गोकुलगंगा गाउँपालिकामा सञ्चालित दुई दिने एकीकृत घुम्ती शिविरबाट ३ सय ४ जनाले नेपाली नागरिकता लिएका छन् ।

विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम आउन नसकेका स्थानियलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयाे । शिविरबाट ३ सय ३३ जनाले फोटो सहितको मतदाता नामवालीमा नाम दर्ता गराएका छन् भने ३१ जनाले उद्योग दर्ता गरेका छन् ।

यसैगरी २५ जनाले बाणिज्य फर्म दर्ता गरेका छन् भने एक जनाले आफ्नो ब्यवसाय नविकरण गरेको छ । गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुमा सञ्चालित शिविरमा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयले सेवा लिएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिए ।

भर्खरैे सम्पन्न रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको थाक्लेमा २ दिने घुम्ती शिविरबाट १ सय ३६ जनाले नेपाली नागरिकताको प्रमाण पत्र र १२ जनाले नगरिकता प्रमाणपत्रको प्रतिलिपि लिएको जिल्ला प्रशासनका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए ।

आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरी सकेसम्म स्थानीय तहबाटै नागरिकता वितरण गर्ने प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।