श्रमदानबाटै स्थानियले बाले बिजुली

जगतदल जनाला विक
सुर्खेत, २६ कार्तिक ।


चौकुने गाउँपालिका २ लगामका जंग बान्तोला स्थानिय व्यापारी हुन । केहि वर्षदेखि द्यालो र टुकी प्रयोग गर्ने राजेन्द्र आजभोली आफुहरुले नै मेहनत गरेर उत्पादन गरेको बिजुलीको प्रयोग गर्दछन् । आफु स्कुलमा पढ्दा द्यालो र टुकीको प्रयोग गरेको आजभोली झलझली सम्झन्छन् उनी । गाउँमा स्थानियकै लगानीमा बत्ति बलेपछि जंग एकदमै हर्षित छन् । बान्तोला भन्छन्’ ‘आजभोली बत्ति आउँदा बालबच्चालाई पढ्न सजिलो भएको छ । देशविदेशका समाचार हेर्नका लागि टेलीभिजन, मिल, साना उद्योगहरु सञ्चालन गर्न सहज भएको छ ।’

‘पहिला साना तिना भ्याक्सिन र फ्रिजमा राख्ने औषधीहरु नहुुँदा रेबिज जस्ता रोगहरुको उपचारमा समस्या हुन्थ्यो, आजभोली त्यो सबको समाधान भएको छ ।’ स्थानिय पशुचिकीत्सक जीरक बडुवालले भने, केही समयपछि त ल्याबटेस्टका उपकरणहरु पनि ल्याउने छौं । कुल २४ लाखको लागतमा १० किलोवाट उत्पादन गरिएको बेदखोली पिको जलविद्युत आयोजनामा डेढ सय घरधुरीले प्रत्यक्ष लाभ लिने भएका छन् । कुलबजेटमा १२ लाख स्थानियको शेयर, ७ लाख स्थानियको जनश्रमदान र ९ लाख चौकुने गाउँपालिकाको अनुदानबाट आयोजनाको सुरुवात गरिएको थियो । ‘आर्थिक अभावका कारण डेढसय घरधुरीमा पु¥याउन सकेका छैनौ, हालसम्म ७० घरमा त पुर्णरुमा विदुत प¥याएका छौं ।’ बेदखोली पिको जलजिद्युत उपभोक्ता समितिका सचिव रुद्र बान्तोलाले भने, यदीसबै ठाउँमा हामीले पोल टाँग्ने र तार बाँध्ने रकम भए लगामको साविक २ नम्बरलाई पुग्ने छ । सचिव बान्तोलाका अनुसार बिजुली उत्पादन भएदेखि साना तथा मझौला उद्योगहरु पनि सञ्चालन भएका छन् ।

करीब २ वर्षको समय लगाएर निर्माण गरिएको सुर्खेतको पश्चिम लगाममा गत चैतदेखि सञ्चालनमा आएको आयोजनाले चौकुने गाउँपालिका वडा नं. २ लगाम झिलिमिली बनाएको छ । यस्तै चौकुने ५ रेक्चामा २२ किलोवाट लघु जलविद्युत आयोजना गतसाल भदौमा सञ्चालनमा आइसकेको छ । वि.सं. २०६९ सालदेखि सुरु गरिएको आयोजनाले गतसाल मात्र पूर्णता पाएपछि रेक्चावासीको बिजुली बाल्ने वर्षौंदेखिको सपना साकार भएको थियो । गाउँमा बिजुली उत्पादनका लागि रेक्चाका एक सय २० घरपरिवारले १० लाख रूपैयाँ बराबरको जनश्रमदान गरेका थिए ।

त्यसबाहेक उक्त आयोजनाका लागि साविकको बिजौरा गाउँ विकास समितिले पाँच लाख ३५ हजार, तत्कालीन जिल्ला विकास समितिबाट दुई लाख ९५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ३५ लाख १७ हजार बजेट विनियोजन भएको थियो भने चौकुने गाउँपालिकाले १७ लाख पाँच हजार दिएको थियो । विभिन्न निकाय र उपभोक्ताबाट गरी जम्मा ९५ लाखको आयोजना सम्पन्न गरिएको आयोजनाका सचिव रेशम बिसीले जानकारी दिए । उक्त आयोजनाबाट रेक्चाका एक सय २० घरधुरीले प्रत्यक्ष रूपमा विद्युत उपयोग गर्न पाएका छन् ।
चौकुने गाउँपालिका वडा नं. ५ की सदस्यसमेत रहेकी स्थानीय प्याउरी बुढाले स्थानीय सरकार बनेपछि गाउँमै बिजुली बाल्न पाइएको बताइन् । चौकुनेकै केन्द्र गुटुका तीनसय घरधुरीलेसौर्य विद्युत प्रयोग गरेका छन् । चौकुने गाउँपलिका– ८ मा सोलार प्लान्ट स्थापना गरी एकसय किलोवाट विद्युत उत्पादन गरिएको छ ।

उज्यालो चौकुने नीति अनुसार काम भएको छ ः शाहीे
चौकुने गाउँपालिकाले विद्युतीकरणलाई विशेष प्राथमिकतामा राखेर उज्यालो चौकुनेको नीति अनुसार काम अगाडी बढेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले अबको दुई वर्षमा चौकुनेका हरेक घर–घरमा बिजुली पु¥याई झिलीमिली बनाउने लक्ष्य रहेको बताए । उज्यालो चौकुने बनाउने अभियान अन्तरर्गत लगाम, रेक्चा र गुटुमा काम भइसकेको र योवर्ष भित्र घाटगाउँमा २ सय किलोवाटको सोलार पोइन्ट बाट बिजुली निकाल्ने जानकारी दिए । बसेनी खोला, रेवती खोला घोग्री खोला र टुनी खोलामा लघुजलविद्युत उत्पादनका लागि गाउँपालिकाले सम्भाव्यता अध्ययन गरी बजेटिङको पनि व्यवस्था गर्ने अध्यक्ष शाहीले दावी गरे ।
उनले नेपालकै पाइलट प्रोजेक्टको रुपमा चौकुनेमा विद्युतको कामहरु अघि बढेको जिकीर गरे । ‘नेपालमा सय र दुई सय किलोवाटको सोलारबाट विजुली निकालिएको पहिलो रेकर्ड हो’ अध्यक्ष शाहीले भने, ‘यी परियोजना सफल भएर नै हामीले अन्य स्थानमा समेत आयोजना निर्माण गर्न सहज भएको छ । ’