बैतडीः जंगली जनावरको आतंक,बालीनाली जोगाउन धौ धौ

Aug 4, 2020

विनोद सिंह विष्ट- बैतडी,२० साउन-
जंगली जनावरले किसानको अन्नबाली तथा तरकारीमा नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तीत बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर,रातीको समयमा दुम्सी र जंगली बदेलले नष्ट गर्न थालेका हो ।
मकैबाली जंगली बदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ३ श्रीकोटका प्रेमसिंह विष्टले बताउनुभयो । जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको उहाँले बताउनुभयो । सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जंगली जनावरले खान थालेको छ ।
गाउँपालिकाको वडा नं ७ को मालमपुर, सिजा लगायतका क्षेत्रमा बदेलले हैरानी गरेको स्थानीय दिपेन्द्र कुँवरले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाको वडा नं १ मा पनि जंगली जनावरले अन्नबालीमा क्षती पुर्याएको प्रकाश विष्टले बताउनुभयो । विभिन्न रोगकिराबाट बचाएर पसाउन लागेको मकैबाली जंगली जनावरले नष्ट पार्ने गरेको स्थानीय गज बहादुर गोयलाले बताउनुभयो ।
फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेका बदेल जंगली जनावरले समेत अन्नबाली खाइदिदा किसानहरु भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।
मकैबाली जोगाउन धौ धौ
बैतडीका किसानहरुलाई मकै बाली जोगाउन धौ धौ परेको छ । प्रत्येक बर्ष जस्तै यो बर्ष पनि जंगली बँदेल, दुम्सी लगायतका जनावरहरुले मकैबाली सखाप पारेको किसानहरुले बताएका छन् । जिल्लाको सबै जसो स्थानीय तहमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानहरुले बताएका छन् । जंगली बँदेलले खेतमा लगाएको मकैबाली पुरै नष्ट गरेको दशरथचन्द नगरपालिका १ का किसान बीरबहादुर टेरले बताउनुभयो । जंगली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता थपिएको उहाँले बताउनुभयो ।
मकैबाली जोगाउन रातभर पहरा दिएपनि जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया ६ का केशवदत्त अवस्थीले बताउनुभयो । जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली जंगली जनावरहरुले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।
प्रत्येक बर्ष बालीनालीमा क्षति हुँदै आएको भएपनि क्षतिपूर्ती पाउन नसकेको किसानहरुले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले बर्षेनी बालीनालीमा क्षति बेहोर्दा समेत सरकारले केही राहत नदिएको किसानहरुले गुनासो गरेका छन् ।
स्थानीय सरकारहरुले किसानहरुका समस्या समाधान गर्न नसकेको किसान बीरबहादुर टेरले बताउनुभयो । किसानहरुले मेहनत गरेर लगाएको बाली जंगली जनावरले नष्ट गर्दा किसानहरु चिन्तित बनेका हुन् । प्रत्येक बर्ष जंगली जनावरहरुले बालीनाली नष्ट गर्न थालेपछि किसानहरुलाई निकै समस्या भएको छ ।
बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ ।