सेवा प्रवाहका बारेमा विद्यालय स्वास्थ्य चौकीमा स्थानीयकाे अनुगमन

Nov 27, 2019

धनगढी, मंसिर ११ ।

कैलालीको गौरीगंगा नगरपालिकामा पर्ने विद्यालय र स्वस्थ्य चौकीमा बिद्यालय र स्वास्थ्य चाैकीमा अनुगमन गरिएको छ ।

एफएमडिसी,विकास र सामाजिक परिवर्तनका लागी संचारको पहलमा सरकारी निकाय,नागरिक समाज र मिडियाले सयुक्त रुपमा गौरीगंगा नगरपालिका–११ ऐठामा रहेको भवानी राष्ट्रिय माध्यामिक विद्यालयमा र वडा नम्बर ९ मा पर्ने मसुरिया स्वास्थ्य चौकीमा अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापा, एफएमडिसीका संस्थापक अध्यक्ष उमीद बागचन्द,गैर सरकारी संस्था महासंघ कैलालीका सचिव चेतमान साउँद र पत्रकारहरुको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा विद्यालयममा भौतिक पूर्वाधार नहुँदा एकै कक्षमा १ सय ३० जना राखेर पढाउने गरेको पाइयो । विद्यालयका प्रधानाध्यापक मीना चौधरी जोशीले विद्यालयमा नियमित मासिक बैठक बस्नेदेखि सर–सफाईमा विशेष ध्यान दिने गरेको बताइन् । ‘विद्यालयको अवस्था धेरै दयनिय थियो’ प्रधानाध्यापक जोशीले भनिन् । ‘एफएमडिसि लगायत स्थानिय नागरिक समाजकाे सरसल्सलाह र सहयाेगपछि अभिभावक सहितका सहभागितामा मासिक बैठक बस्नेदेखि सरसफाईका कार्यहरु भइहरेका छन् ।’ उनले विद्यालयमा दरबन्दी नहुँदा समस्या हुने गरेको गुनासो गरिन् ।

अभिभावकहरुमा चेतनाको विकास अझै हुन नसकेकाले विद्यार्थीहरु नियमित विद्यालय आउन नसकेको उनले बताइन् । विद्यार्थीहरु ड्रपआवट र बाल विवाह जस्ता घट्नाले गर्दा विद्यार्थीहरु टिकाउन समस्या हुने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरु ९, १० कक्षा पढ्ने समयमा विवाह बढी हुने गरेको जोशीले बताइन् ।

उक्त विद्यालयमा ४ सय २० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ती विद्यार्थीहरुलाई पढाउने निजी र सरकारी गरी १३ जना शिक्षकहरु रहेका छन् ।

यस्तै मसुरिया स्वास्थ्य चौकीमा अनुगमनका क्रममा सरकारले दिने निःशुल्क औषधीहरु पाए पनि विरामीमा चेतनाका कमीका कारण समस्यामा आउने गरेको इन्चार्ज भागीराम चौधरीले बताए ।

‘स्वास्थ्य चौकी सुधारका लागि वडा कार्यालयदेखि प्रशासन प्रतिबद्ध छन्’ उनले भने । ‘स्थानीहरुको साथ सहयोग नुहँदा समस्या हुने गरेको छ ।’ स्थानीयहरु स्वास्थ्य चौकी भित्र नै पशु चौपायहरु बाँध्ने गरेको उनले गुनासो गरे । स्वास्थ्य चौकीमा प्राथमिक उपचार सेवा सबै थरिको उपलब्ध भएको उनले उल्लेख गरे ।

खोप कार्यक्रम, गर्भा अवस्थामा हुने चेक जाँच, परिवार नियोजन सेवा रहेको भागीराम जानकारी दिए । स्वास्थ्य चौकीमा विशेष गरी दिर्घ रोगीहरु बढी उपचार सेवा लिइरहेको उनले बताए ।

अतिआवश्यक सेवा २४ घण्टा हुने गरेको उनको भनाई छ । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा ६ जना कार्यरत रहेका छन् । अनुगमनका क्रममा वडा नम्बर ९ का वडा अध्यक्ष हरि तिवारीले स्वास्थ्य चौकीमा घेरबार नहुँदा समस्या हुने गरेको बताए । सरकारले स्वास्थ्य चौकीबाट दिने सेवा सबै दिए पनि घेरबार नहुँदा चौकीमा कार्यरत कर्मचारीहरु नै असुरक्षित हुने गरेको उनले बताए । स्वास्थ्य चौकीका अनुसार मासिक ३५ जना सम्म त सुत्केरी गराउनेको संख्या रहेको छ ।
त्यस्तै स्वास्थ्य चौकीका उपाध्यक्ष पवन कुमार बोगटीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने तिर आफुहरुको ध्यान गएको बताए ।


अनुगमनका क्रममा जिल्ला समन्वय संयोजक सुर्यबहादुर थापाले विद्यालय र स्वास्थ्य चौकीमा भएको समस्या र भइरहेका गतिविधिहरुको बारेमा जानकारी लिएका थिए ।

उनले विद्यालय र अस्पतालमा भएका समस्याका बारेमा नगरपालिका प्रदेश सरकार संग समन्वय गर्ने प्रतिबद्धता गरेका हुन । अस्पताल र विद्यालय व्यवस्थित बनाउनका लागि अभिभावकमा चेतना नै महत्वपूर्ण रहेको उनले बताए ।

अनुगमन टोलिले गौरीगंगा नगरपालिका मेयर भीबहादुर देउवालाई पनि समस्याका बारेमा जानकारी गराएको हो । देउवाले अस्पताल विद्यालयको समस्याका बारेमा नगरपालिका गम्भीर भएर अगाडि बढेको बताएका हुन् ।