‘तरकारी बारीमै कुहियो, हाम्रा कुरा कसले सुनिदिने’

 

जगतदल जनाला विक

सुर्खेत, २० पुष । ‘यहाँका बजार र होटेलहरूमा बाहिर (भारत) बाट तरकारी ल्याउँदा हामीले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन । धेरै त बारीमै कुहिएको छ । हाम्रो कुरा कसले सुनिदिने?’ यो भनाई वीरेन्द्रनगरका कृषक डिल बहादुर थापाको हो । उनी विगत आठ वर्षदेखि तरकारी खेतीमा होमिएका छन् । यहाँको स्थानीय बजारमा तरकारीको खपत नभएपछि उनको तरकारी बारीमै कुहिन थालेको छ ।

‘कृषि पेसाबाटै केही गरौंला भन्ने उद्देश्यले सयकडा तीन रुपैयाँका दरले ब्याज दिने गरी पाँच लाख रुपैयाँ ऋण ल्याई आठ रोपनीमा तरकारी खेती गरें,’ थापाले भने, ‘कोरोना महामारीमा लकडाउन भएपछि दुई क्वीन्टल बन्दा बारीमै कुहियो यहाँको बजारमा बाहिरबाटै तरकारी आउँछ तर व्यापारीले बाहिरबाट ३५ रुपैयाँ किलोमा ल्याउँदा हामीले २५ मै दिएपनि कसैले किन्दैनन् ।’

‘तरकारीले बजार नपाएपछि खाडलमा पुर्नु र बारीमै कुहिन दिनुबाहेक किसानले के गर्न सक्छ र! सरकार किसानसम्म आइपुग्ने आँट गर्दैन । हजारौं क्विन्टल तरकारी बारीमै कुहिएको छ ।’, वीरेन्द्रनगर-९ का अर्का कृषक ज्ञान बहादुर रावतले भने, ‘बिचौलिया तथा ठेकेदारले हाम्रो तरकारी उठाउन मान्दैनन् । बाहिरबाट ल्याउँछन् । तरकारी नउठ्दा कुहिन दिनुको विकल्प हुँदैन ।’, उनले त्यसरी बाहिरबाट तरकारी ल्याउनुको सट्टा स्थानीय उत्पादनमा सरकारले पनि नीति नै बनाएर प्रश्रय दिए किसानलाई धेरै राहत हुने भन्दै सरकारले कहिल्यै पनि किसानका कुरा सुन्न नचाहेको गुनासो गरे । दस वर्षदेखि कृषि कर्म गर्दै आएका रावतले आजभोली ५ कट्ठा जग्गामा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उक्त बारीमा करेला, काउली, बन्दा, काँक्रो, प्याज, लौका, टमाटर, खुर्सानी आदि लगाएका छन् । उनलाई अहिले तरकारीले बजार नपाउँदा दुःख लाग्छ, अनि पेसा नै छोडुँ जस्तो लाग्छ ।

अन्य वर्षमा तरकारी खेतीबाट वार्षिक साढे दुई लाख सम्म कमाउने उनको यो वर्ष साबिककै मूल्यमा छ लाख बराबरको आलु, टमाटर लगायतका तरकारी बारीमै कुहिएको सुनाए । स्थानीय तरकारी बारीमै कुहिरहेका बेला भारतबाट ट्रकका ट्रक तरकारी नेपाल भित्रिएर निर्वाध रूपमा सर्वसाधारणको भान्सामा पुगिरहेको गुनासो गर्छन् वीरेन्द्रनगरकै अर्का कृषक सुजल रोकाय । कृषकलाई धेरै आश्वासन दिएपनि उनीहरुको हितमा काम गर्न नसकेको भन्दै स्थानीय र प्रदेश सरकारसँग कृषकहरु रुष्ट बनेका छन् ।

आइतबार इन्सेक कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य अधिकार सम्बन्धि सरोकारवालाबीच अन्तरक्रियामा सरकारप्रति कृषकहरुले आक्रोस पोखेका हुन् । सरकारले आफै कृषकका कुरा नसुनेपनि बेलाबखतमा गैरसरकारी संस्थाहरुले गरेको कार्यक्रममा समेत आफुहरुका कुरा सुन्न नचाहेको राष्ट्रिय कृषक महासंघ कर्णालीका अध्यक्ष सन्त बहादुर खत्रीले आरोप लगाए ।

उता पञ्चपुरीमा पनि कोरोना महामारीका कारण बन्द भएको हाट बजार दस महिनासम्म पनि नखुल्दा किसानको तरकारी बारीमै कुहिन थालेको छ । पञ्चपुरी नगरपालिकाकोे बाबियाचौरमा हरेक शनिबार सञ्चालन हुँदै आएको कृषि हाटबजार बन्द भएको दस महिना बितिसक्दा पनि सञ्चालन हुन नसकेको हो । ‘हाटबजार सञ्चालन भएपछि उत्पादित तरकारी बिक्री हुन्थ्यो । घरखर्च चल्थ्यो । अहिले त नियमित व्यापार हुन छाड्यो । बारीमा लगाएको तरकारी पनि कुहियो’, स्थानीय लक्ष्मी बयकले भनिन् ।