बैतडीको ढोलेमा पहीरोको जोखीम स्थानियहरु त्रसित

Aug 4, 2020


जयराज अवस्थी/बैतडी,साउन २०
बैतडीको सुर्नया गाउँपालिका ८ को ढोलेमा पहिरोको जोखिम बढ्दै गएको छ । ढोलेका विभिन्न क्षेत्रमा पहिरो खस्न थालेको स्थानीयबासीले बताएका छन ्। गत वर्ष पनि मल्लोढोलेमा पहिरो खस्दा ६ परिवार पूर्ण रुपमा विस्थापित भएका थिए ।
शुक्रबार राती परेको पानीले तल्लोढोलेको रातापानीमा पहिरो खस्दा ६ घरपरिवार पहिरोको जोखिममा परेका छन् भने २ परिवार अति जोखिममा परेका वडा अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो । पहिरोका कारण स्थानीय लोकेन्द्र बोहरा, मञ्जित बोहरा, सालिभान बोहरा, जनक बोहरा, बीरबहालदुर बोहरा, रामसिंह बोहरा र मीन बहादुर बोहराको घर जोखिममा परेको वडा अध्यक्ष बोहराले बताउनुभयो । यस्तै वडाकै मल्लोढोलेमा पनि पहिरो खस्दा शेरसिंह बोहरा लगायत ६ परिवार पहिरोको जोखिममा छन्। मल्लोढोलेमा सडकबाट खसेको पहिरोले क्षति पुरयाउँदै आएको वडा सदस्य जयसिंह बोहराले बताउनुभयो । गत वर्ष पहिरो खसेकै ठाउँमा फेरि पहिरो खस्न थालेपछि स्थानीय त्रसित बनेका छन्। गत वर्ष पहीरोबाट विस्थापित भएकाहरुले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन्।
ढोल्यामोडदेखि सुर्नया गाउँपालिकाको वडा नं ८ जोड्ने सडकका कारण मल्लोढोलेमा गत वर्षदेखि पहिरो खस्दै आएको छ। यो वर्ष पनि सडकबाट पहिरो खस्न सुरु भएकाले स्थानीय जोखिममा परेका वडा अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो ।