यौनिकता बारे खुल्दै किशोरी

Nov 27, 2019

मंसिर ११ अछाम,
मंगलसैन नगरपालिका वडा नं.३ बिसाकोटकी रत्ना साउँदलाई यसअघि विद्यालयमा यौन शिक्षाका बारेमा पढाई हुँदा अप्ठेरो लाग्थ्यो । साथीभाई र शिक्षकका अगाडि अनुहार नै रातोपिरो हुन्थ्यो । कक्षामा यौन शिक्षाको शीर्षक आउने वित्तिकै उनी ध्यान अर्के ठाउँमा मोड्ने गर्थिन् । तर, अब उनलाई अहिले त्यस्तो केही हुँदैन । उनलाई अब लागिसकेको छ कि यौन शिक्षा पनि अपरिहार्य छ भनेर । शिवशक्ति वाल क्लवका सदस्यसमेत रहेकी साउँदले युनिस्कोको सहयोगमा वाक नेपालबाट वृहत यौनिकता शिक्षा सम्बन्धी तालिम पाएपछि त्यसबारे सहज भएको छ । उनले यही तालिमबाट यौनिकता शिक्षाका बारेमा खुलेर कुराकानी गर्नसक्ने आँट बटुलेकी छन् । किशोर–किशोरीहरूको यौन र शारीरिक परिवर्तनसम्बन्धी तालिमबाट प्राप्त ज्ञानले उनलाई पहिले यौनिकताका बारेमा सुन्दा लजाउने बानी अहिले हटिसकेको छ । यति मात्रै होइन् अहिले उनी आफूभन्दा कम उमेर समूहका किशोरीलाई उमेर बढ्दै जाने किशोरीमा आउने परिवर्तनको बारेमा सिकाउनेसमेत भइसकेकी छन् । उमेर बढ्दै जाँदा किशोरी महिनावारी सुरु हुनु, स्तन वृद्धि हुने र आवाजमा केही परिवर्तन आउँछ भने आफूभन्दा पछिका बहिनीहरुलाई सिकाउने गरेको उन बताउँछिन् । यौनिकता शिक्षाकले युवा किशोरकिशोरीहरूलाई भौतिक, संवेगात्मक र नैतिक विकासमा मद्दत पुयाउने कुराको जानकारी भएको उनको भनाई छ ।

साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौं रेडियो श्रोता क्लवका सदस्य करिष्मा दासलाई पनि पहिले साथीहरुले जिस्काउँदा खुलेर प्रतिवाद गर्न सक्ने आँट थिएन । तर, केही समय पहिले वृहत यौनिकता शिक्षा सम्बन्धी तालिम लिएपछि उनी पनि अहिले आफूमाथि आइपर्ने समस्याको सामना गर्न थालेकी छन् । ‘पहिले कसैले जिस्काउदा चुपचाप लाग्ने गरेको थिएँ,’ उनी भन्छिन्, ‘तालिमपछि सिकेका कुरा मेरा लागि जीवन उपयोगी बनेका छन् ।’ उनी अहिले कसैले जिस्काउँदा सहेर नबसी प्रतिवाद गर्छिन् ।
यस्तै, मंगलसैन नगरपालिका वडा नं.३ का धनकला बिष्टले घरबाट बाहिर नस्किदा घरको अनुमति लिनुपथ्र्यो । उनलाई छोरा जस्तो घरमा स्वतन्त्रता थिएन । बढेकी छोरी घरबाहिर निस्कनु हुँदैन भन्ने शिक्षा गलत सोचका कारण उनले थुप्रै समस्या भोग्नुपरेको थियो । लिङ्गका आधारमा हुने भिन्नताका कारण समाजले तोकेका लैङ्गिक जिम्मेवारीले क्षमता विकासमा बाधा पुगेको थियो । तर, अहिले उनी आफू स्वतन्त्र भएको महसुश गरिर्छन् । ‘लैङ्गिक जिम्मेवारीका रुपमा हामीलार्ई धेरै जिम्मेवारी दिई घरायसी कार्यमा सीमित गरेका थिए,’ उनी भन्छिन्, ‘जीवनउयोेगी तालिमले बढेको विश्वासका कारण अहिले खुलेर बाहिर आउन थालेकी छु ।’ यस्तै तालिमले नेतृत्व विश्वास बढेको उनी बताउँछिन् । छोराछोरीबीच हुने विभदले सहेर बस्नुभन्दा त्यसविरुद्ध आवाज उठाउनुपर्ने उनको भनाई रहेको छ ।

यस्तै, यौन शिक्षाका बारेमा सुन्दा नै लजाउने साँफेबगर नगरस्तरिय युवा सञ्जालका अध्यक्ष पूजा बुढा पनि अहिले किशोर किशोरीलाई यौन शिक्षाका बारेमा तालिम दिनसक्ने व्यक्ति भइसक्नुभएको छ । युनिस्केको सहयोगमा पाँच दिने तालिमा लिएर उनी अहिले नगरका केही माध्यामिक विद्यालयमा गएर कक्षा ९ र १० का छात्रछात्रालाई यौनिकताका बारेमा प्रशिक्षण दिनुहुन्छ । ‘पहिले ८÷१० जना मान्छेको अगाडि बोल्न लाग्ने गरेको थियो ।’ उनले भनिन्, ‘नेतृत्व विकास सम्बन्धी तालिमपछि विद्यालयमा गएर ५० देखि सय विद्यार्थीकाबीच बोल्न सफल भएकी छु ।’ यौन शिक्षा यौन सम्बन्धसँग मात्र नभएर यौन, यौनिकता र प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित वृहत्तर अध्ययन क्षेत्र रहेछ भनेर जानकारी प्राप्त भएको उनको भनाई छ । अहिले आफू विद्यालयमा गएर यी विषयमा किशोर किशोरीलाई जानकारी गराउँदै आएको उनले बताइन् । विशेष गरी किशोर किशोरीलाई महिनाबारी, स्वप्नदोष, स्तनको विकास, लिङ्ग, योनी र पाठेघरका बनावट आदिका बारेका आफूले जानकारी गराएको अध्यक्ष बुढाको भनाई छ । ‘यस्ता विषयको शिक्षण सिकाइ क्रियाकलाप गर्दा सुरु–सुरुमा शिक्षकलाई अलिकति धक लाग्नु, विद्यार्थीले पनि कानेखुसी गर्नु स्वाभाविक हो ।’ वुढा भन्छिन, ‘तर, मैले शिक्षण कला र अनुभवका आधारमा विद्यार्थीलाई विषयवस्तुप्रति गम्भीर बनाई यो विषयका बारेमा बताउने गरिको छु । महिनाबारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो ।’ महिनावरी भएको समय डराउनुभन्दा पनि नियमित सरसफाईसँगै प्याडको प्रयोग गर्नु पर्छ भनेर विद्यालयमा सिकाएको उनको भनाई रहेको छ ।
वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवर सरकार तथा गैरसरकारी संस्थाले प्रदान गर्ने नेतृत्व विकास तालिमले अहिले किशोर किशोरी खुलेर बाहिर आउन थालेको बताउँछन् । उहाँले वाक नेपालले पनि लिङ्गका आधारमा नभई सक्षमताका आधारमा भूमिका निर्वाह गर्ने वातावरणको सृजना गर्नुपर्छ भनेर नेतृत्व विकासको तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।