१३ बर्षिय बालककाे पिठ्यूमा ५०किलोकाे भारी

May 11, 2019

जयराज अवस्थी

बैशाख २८, बैतडी

बैतडीको सिगास गाँउपालिका वडा न ३, लगनका १३ बर्षिय भानसिंह साउद कक्षा ४ मा अध्ययन गर्नुहुन्छ । उहाँले भारी बोकेर आफ्नो पढाइखर्चको जोहो गरिरहनुभएकाे छ । १३ बर्षिया भानसिंहकोे तौल ३४ किलो छ तर उहाँले पिठ्यूमा ५० किलोको सिमेन्टको बाेरा लिएर जन्छन् ।

भानसिह दैनिक २ बाेरा सिमेन्ट गाँउपालिकाको चमडेखर्क भन्ने ठाउँमा पुर्याएर ३ सय रुपयाँ कमाउदै आइरहेका छन् । उहाँका बुवा भारतमा मजदुरी गर्नुहुन्छ, आमा, र भाइबहिनीसंगै घरमा रहेका भानसिंहको घरमा पनि खानलाउन समस्या भएकोले मजदुरी गर्नुपरेको उहाँले बताउनुभयो । हरेक दिन २ बाेरा सिमेन्ट बोकेर कमाएको ३ सय रुपयाँ भानसिहले आमा लाई नै दिने गरेको बताउनुभयो । आफुले कमाएको पैसाबाट पढाई खर्च र कापि कलम किन्न सजिलो भएको भानसिंहले बताउनुभयो । यसका साथै घरमा पैसाको आवश्यकता भएमा आफुले आर्जन गरेको पैसाले काम चल्ने गरेको उहाँले बताउनुभयो ।

बैतडीको दुर्गम ग्रामिण क्षेत्रका अधिकांस बालबालिकाहरु विद्यालय बन्द भएपछि यस्तै काम गरिरहेको भेटिन्छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बैतडीका अध्यक्ष देबराम लोहारले हामीहरु गाँउघरमा गईरहेका बेला यस्ता बालबालिकाहरु थुपै्र भेटीने गरेको र उनिहरुले आफ्नो तौल भन्दा बढी भारी बोक्न् बाध्य भइरहेको उहाँले बताउनुभयो । अहिले गाँउघरमा भैरहेका बिकास निर्माणका अधिकांस योजनाहरुमा बालबालिकाले मजदुरी गरिरहेको लोहारले बताउनुभयो । 

घरमा आर्थिक समस्याले पिरोलिएका कारण बालबालिकाहरु मजदुरी गरिरहेको सिगास गाँउपालिका वडा न ७ का स्थानिय सुरेन्द्र साउदले बताउनुभयो । केही बालबालिकाहरु विद्यालय बिदाको समयमा यस्ता कामहरु गर्ने गर्दछन् भने कोहिकोहि बालबालिकाहरु त विद्यालय संञ्चाल भइरहेको बेला समेत काम गर्ने ठाँउहरु पाएमा काममा जाने गरेको उहाँले बताउनुभयो । गरिबि र अशिक्षाका कारण बालबालिकाहरु श्रम गर्न बाध्य भइरहेका छन् । यस्ता बालबालिकाका अविभावकहरुलाइ बालबालिकाहरुलाइ राम्रो शिक्षादिक्षा दिनुपर्छ भन्ने ज्ञान नहुँदा पनि बालबालिकाहरु श्रम गर्न बाध्य रहेको स्थानीय जानकारहरु बताउँछन् ।

अझै पनि धेरैजसो बालबालिकाहरुको दैनिक भारी बोक्ने, दाउरा चिर्ने, बाटो खन्ने लगायतका कामहरुमा जाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुले कहिलेसम्म आफ्नो तौलभन्दा बढी भारी बोक्ने कुराको जवाफ नत स्थानीय सरकारसंँग छ, नत केन्द्र सरकारसंगै सरकारले यस्ता बालबालिकाहरुको सुनौलो भविष्यको लागी केही नयाँ कार्यक्रमहरु ल्याएर अभिभावकत्व ग्रहण गरीदिदा भानसिह जस्ता बालबालिकाहरुले आफ्नो तौलभन्दा बढीको भारी बोक्ने दिनको अन्थ्य हुने थियो । बालश्रममुक्त समाजको निर्माण हुने थियो ।