वडाबाटै न्याय पाइने भएपछि स्थानीय हर्षित

Jun 8, 2018

कञ्चनपुर, जेठ २५ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा न्यायिक समितिले पूर्णता पाएको भने तीनचार महिना मात्रै भएको छ । तर, कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीयमा यतिबेला घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढ्दै गएको छ ।
स्थानीय तहले वडास्तरबाटै न्यायिक सम्पादनको काम गर्न थालेपछि न्यायिक समितिमा उजुरी दिनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । कम समयमा बिना झन्झट न्याय पाइने भएपनि सेवाग्राही पनि खुशी भएका छन् । जग्गाको विवाद लिएर नगरपालिका पुग्नुभएका बेदकोट नगरपालिका १० का नाराणदत्त पन्त न्यायिक समितिको काम प्रति निकै खुशी हुनुनहुन्छ ।
न्यायिक समितिले काम गर्दा दुबै (प्रथम र द्वीतिय) पक्षलाई राखेर छलफल गरी मिलापत्र गराउने आफूहरुको चित्त बुझेको उहाँ बताउनुहुन्छ ।
‘अहिले स्थानीय तहलाई न्याय सम्पादनको जिम्मा दिएपछि न्याय पाउन निकै सजिलो भएको छ’, पन्तले भन्नुभयो ‘पहिले प्रहरी, अदालत धाउनुपर्ने हुन्थ्यो अहिले आफ्नै स्थानीय तहमा यो सुविधा आएपछि समय र पैसाको बचत भएको छ ।’
स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको हुन्छ । न्यायिक समितिमा अधिकांश घरेलु हिंसा, जग्गाको साँध विवाद, घरबहाल विवाद, झैझगडा लगायतका उजुरी आउने गरेको बेदकोट नगारपालिकाका न्यायिक समिति सदस्य चक्र कुवँरको भनाई छ ।
‘हामी कहाँ दैनिक ४/५ वटा उजुरी आउछन्’, कुवँरले भन्नुभयो ‘दुबै पक्षलाई राखेर पहिले कुरा सन्छौ । अनि मात्र संवैधानिक व्यवस्था अनुसार प्रत्रिया अगाडी बढाउछौ ।’ उहाँका अनुसार अधिकांश उजुरी मिलापत्र मै टुङ्गिने गरेका छन् ।
उता, न्यायिक समितिमा उजुरी दिँदा दुबै पक्षको कुरा सुनेर मेलमिलाप गराइने भएकाले छिटो न्याय पाइने र झगडा गर्नु पर्ने अवस्था नआउने बेदकोट नगारपालिका ७ महुलियाका देवराज पाण्डले बताउनुभयो ।
न्यायिक समितिले टुङ्ग्याउन नसकेका मुद्दा अदालत जाने व्यवस्था भएपनि बेदकोट नगारपालिकाको एउटा मुद्दा बाहेक अहिलेसम्म कुनै पनि मुद्दा अदालत पुगेका छैनन् ।
न्यायिक समितिमा कानुनि सल्लाकार वकिल नभएकाले न्याय सम्पादनको काममा गाह्रो हुने गरेको बेदकोट नगारपालिका उप प्रमुख सुशिला चन्दको भनाई छ ।