बाँकेमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पसको अवधारणा

Oct 15, 2020

प्रेम विश्वकर्मा, नेपालगंज
 असोज २९ ।
बाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पस बनाउने गरी काम अगाडि बढाईएको छ । पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका र नेपालगंज उपमहानगरपालिकामा काम भईरहेको छ ।

जानकी र खजुरा गाउँपालिकाको कार्यक्रम प्रस्ताव प्रक्रियामै रहेको छ ।छात्रा विद्यालय र कलेज संञ्चालन ब्यवस्थापनका लागी जिल्ला समन्वय समितिले त्यहाँको आवाश्यकता बमोजिम ७५ प्रतिशत रकम र संम्बन्धित पालिकाले २५ प्रतिशत रकम ब्यवर्होने गरी कार्यविधि रहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

अहिले काम भईरहेको पालिका नेपालगंजमा ४ करोड र राप्तीसोनारी गाउँपालिकामा ९० लाख रुपैंया जिल्ला समन्वय समितिले उपलब्ध गराएको बताउनुभयो । यसैबीच बाँके जिल्लालाई चालु आर्थिक बर्ष २०७७–०७८ मा नै साक्षर जिल्ला घोषणाको तयारी पनि गरिएको छ । २०७७ असोज ११ गते बसेको ७ औं जिल्ला सभाले यसबारेमा निर्णाय गरेको हो ।

साक्षर पालिका घोषणा हुन बाँकी नेपालगंज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिकाका स्थानीय सरकारले आगामी चैत्र महिना भित्र पालिकालाई साक्षर पालिका घोषणा गरिसक्ने प्रतिबद्धता जनाएका छन ।उता बाँके र कपिलबस्तु जिल्ला साक्षर जिल्ला घोषणा हुन नसकेकै कारण लुम्बिनी प्रदेश साक्षर प्रदेश घोषणा हुन सकेको छैन ।