घुम्ती शिविरबाट एक हजार ७ सय बढीले सेवा लिए

पुस २३ ,डडेल्धुरा

डडेल्धुराको आलिताल गाउँपालिकामा दुई दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ।

आलिताल गाउँपालिकाको आयोजना तथा सामाजिक वातावरण तथा उद्यम विकास समाजको सहकार्यमा मंगलबारदेखि सुरु भएको घुम्ती शिविर बुधबार सकिएको हो।

एकीकृत घुम्ती शिविरबाट स्याथ्य सम्बन्धी सेवा, नेपाली नागरिकताको प्रमाण पत्र, फोटोसहितको मतदाता परिचय पत्र र व्यवसाय दर्ता, अपांगता तथा अशक्त व्यक्तिहरुलाई परिचय पत्र, पशु सेवा, कृषि सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए।

आगामी दिनमा पनि यस्ता किसिमका एकीकृत घुम्ती शिविर आयोजना गरिने उनको भनाइ छ। दुई दिनसम्म संचालन भएको शिविरमा एक हजार ७ सय ३६ जनाले सेवा लिएका छन्।

जसमा नागरिकता वितरण १३० जना, स्वास्थ्य परीक्षण ६६७, अपांगता परिचयपत्र ८०, फोटोसहितको मतदान परिचय पत्र १२४, माटो परिक्षण १२८ जना, भेट्नरी सेवा २०७ जना र ४०० जनालाई बिउ बिजन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेद्रसिंह ठगुन्नाले जानकारी दिए। शिविरमा सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको थियो।