रामेछाप खाँडादेवीको बिहेभोज महँगो, खाएका मध्ये अधिकांश संक्रमित

Jun 3, 2021


रीता मगर, रामेछाप जेठ २० - रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पोहोरको तुलनामा यसवर्षको दोस्रो लहरमा कोभिडमा संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । अहिले संक्रमित हुनेहरु अधिकांस बैशाख अन्तिम साता गाउँकै एउटा विहेभोेजमा सहभागी भएकाहरु छन् । भोजको रमाइलोमा सामाजिक भौतिक दुरी कायम नगरेको र सुरक्षाका उपाय नअपनाएका कारण अधिकांसलाई कोरोना संक्रमण भएको हो ।
खाडादेवीमा गत वर्ष ७ महिनाको अवधिमा जम्मा ७ जनामा मात्र संक्रमित थिए । अहिले १ महिनाको अवधिमा ९१ जना संक्रमित भए । ९१ जना मध्ये ४० जना अझै होम आईसोलेसनमा रहेको र केही निको भैसकेका छन् । जेठ २० गतेसम्मको तथ्यांक अनुसार खाँडादेवीमा ५ जनाको मृत्यू भएको छ ।
कोरोना संक्रमण दर कम गर्न अहिले पालिकाले भिडभाड रोकेको छ । एम्बुलेन्स तयारी अवस्थामा छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका विरामीको टोलटोलमै गएर एन्टिजिन विधिबाट परिक्षण गरिरहेको छ । मावि तहका २४५ जना शिक्षकलाई विदा होईन परिचालन हुनुस् भनेर उनीहरुमार्फत टोलटोलमा कोभिड सम्वन्धी जानकारी दिने काम भइरहेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ्गले जानकारी दिनुभयो ।
खाँडादेवीमा १ डाक्टर, ५ नर्स र अक्सिजन सहितको १५ बेडको आईसोलेसन कक्ष तयारी अवस्थामा रहेको भएपनि सवै संक्रमित होम आईसोलेसनमै छन् । संक्रमितहरुको घरमै गएर पालिकाले स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिने, होम आईसोलेसन किट, प्यारसिटामोल, स्यानिटाईजर लगायताका अत्यावश्यक औषधीहरु वितरण गरिरहेको छ ।