घुम्ती शिविर बाटै नगरबासीलाई सेवा

Mar 11, 2020

इमान सिं राना
पाल्पा (रामपुर) तत्कालीन गेझा गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च रामपुर १० गेझा होस्दी निवासी ८१ वर्षिय नुन बहादुर राना वडा कार्यालय परिसरमा भएको स्वास्थ्य सहितको घुम्ती शिविरमा पुगेका थिए । आँखा परिक्षणका लागि पुगेका राना नगरपालिकाको सबै सेवा एकै स्थान बाट पाउँदा दंग थिए ।
हातमा लौरी सहायतामा आएका रानाले आँखा परिक्षण पछि उनले खुशी साट्दै भने, ‘हामी वृद्ध, असक्त, निम्न परिवारका मानिसहरुलाई असुविधा भएको ठाउँमा पनि यसरी सबै सुविधा पाउँदा ज्यादै खुशी लाग्यो ।’ रानाले थपे, ‘यस्ता सेवाहरु बेला बेलामा भैदिएको भए जनतालाई अझै सहज हुनेथियो ।’
राना मात्रै होइन नगरपालिका कार्यालय बेझाँड भन्दा सबै भन्दा पश्चिमको वडा नं. १० र ८, पूर्वको वडा नं. १ र २ का स्थानियहरुले यसरी नै खुशी साटेका छन् । नागरिकहरुको पहुँच सम्म सहज रुपमा सेवा पु¥याउनका लागि रामपुर नगरपालिकाले घुम्ती शिविर सञ्चालन गरे संगै स्थानियहरु हर्षित भएका हुन् । नगरले वडा नं. १ र वडा नं. १० को कार्यालय परिसर बाट एकै पटक विषयगत शाखाको सेवा तथा स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको थियो । शिविर मार्फत नगरपालिका कार्यालयका सबै विषयगत शाखा मार्फत दिने सेवा, स्वास्थ्य परिक्षण अन्तर्गत सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र महिलाहरुको पाठेघरको भिआईए परिक्षण सहित व्यवसाय दर्ता तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
स्थानीय सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ अनुसार नगरपालिकाले घुम्ती सेवा प्रदान गरेको हो । सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्न नगरपालिका कार्यालय बाट प्रदान गरिने चेक जारी बाहेकका सम्पूर्ण सेवा प्रदान गरिएको थियो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नगरपालिका कार्यालयको पहुँच भन्दा पर रहेका र सेवा लिन जान असमर्थ जेष्ठ नागरिक, अशहाय, अपाङ्गता भएका र निम्न वर्गको व्यक्तिहरुलाई लक्ष्यित गरी शिविर सञ्चालन गरिएको बताए । उनले चेक बाहेकका सबै सेवा प्रदान गरिएको बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका कार्यालय तथा अस्पतालको पहुँच भन्दा पर रहेका जनताको आवश्यकतालाई मध्यनजर गर्दै वडा नं. १ र १० मा शिविर सञ्चालन गरिएको बताए । उनले अन्य संघ संस्था संगको सहकार्यमा नगरले सेवा प्रदान गरेको भन्दै थापाले आगामी वर्षहरु पनि कार्यालय भन्दा पर रहेका जनताको सहजताको लागि आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने बताए । उनले वडा कार्यालय मात्रै नभई दुरदराजका जनताको लागि टोलटोल मै गएर सेवा प्रदान गर्ने बताए । रामपुर १० मा भएको शिविर बाट १ हजार २ सय ३० जनाले र रामपुर १ मा भएको शिविर बाट ७ सय १५ जनाले सेवा प्राप्त गरेका थिए ।