चरिकोटमा नागरिक समाज संस्था सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रम सम्पन्न

फागुन १५/दोलखाको जिल्ला सदरमुकाम चरिकोटमा मंगलबार नागरिक समाज संस्था सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रम  सम्पन्न भएको छ । छलफल कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखा जिल्लामा आएका गैह्र सरकारी संस्थालाई कुनै असजिलो नमानी पारदर्शितालाई ध्यानमा राखेर सुशासनलाई जोडेर जवाफदेही रुपमा काम गर्न आग्रह गर्नुभयो ।

प्रमुख पाण्डेले सो अवसरमा स्थानीय सरकार गैससलाई सँगै लैजान तयार रहेको पनि बताउनुभयो । गैससले स्थानीय सरकारलाई सफल बनाउन सहयोगी भुमिका निर्वाह गर्नुपर्नेमा वहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गैससको विरुद्धमा स्थानीय तहले कानुन निर्माण नगर्ने प्रतिबद्धता ब्यक्त भएको छ । उहाँले कानुन निर्माण गर्दा गैससलाई पनि ध्यानमा राखेर काम गर्ने जानकारी दिनुभयो । नगर प्रमुख केसीले समृद्ध भीमेश्वर नगर बनाउन एकले मात्रै सम्भव नभएकाले सबैको साथ र सहयोगसँगै मिलेर अघि बढ्नुपर्नेमा जोड् दिनुभयो । उहाँले स्थानीय सरकारसँग समन्वय गरी जस्ले काम गर्छ त्यस संस्थालाई समन्वय गर्ने र जुन गैससले समन्वय नगरी दोलखा जिल्लामा काम गर्न चाहन्छन् त्यस्ता संस्थालाई आफुखुसी काम गर्न नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।

पारस्परिक जवाफदेहिता कार्यक्रम मार्फत एफएचआई ३६० सँगको साझेदारी र युएसएआईडीको आर्थिक सहयोगमा गोगो फाउनडेशनद्धारा आयोजित कार्यक्रममा गोगो फाउन्डेशनका कार्यकारी निर्देशक केदार खड्काले नेपालमा गैससको विकास, संस्था दर्ता ऐन, २०३४ अन्तर्गत संस्था दर्ता गर्ने प्रकृया, गैसस सम्बन्धि विशेष तथा सहायक ऐन र निर्दशिकाहरु, नेपालमा नागरिक संस्था सम्बन्धी कानुनको विकासक्र लगायतका बारेमा जानकारीमुलक प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा दोलखा जिल्लामा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षक, पत्रकारहरुको सहभागिता रहेको थियो ।