वन्यजन्तुबाट बाली नष्ट: किसानलाई चिन्ता

Dec 6, 2018

ज्योति श्रेष्ठ
काभ्रे, मंसिर २० 
कृषिलाई काभ्रेको प्रमुुख आम्दानीको श्रोतको रुपमा लिईन्छ । कृषिबाटै जिल्लामा अर्बाैँ रुपैँया भित्रिएपनि कृषकको बालीको भने सुरक्षा हुन सकेको छैन । आफूले दुःख गरेर लगाएको बालीबाट राम्रो उत्पादन लिन नसक्दा पनौती नगारपालिका वडा नं १का किसान यति बेला चिन्तामा छन् ।

पनौती नगरपालिका –१ रयालेका दधीराम सापकोटाले यस वर्ष ४ रोपनीमा मकै लगाएका थिए । उनले त्यसबाट राम्रो उत्पादन लिन सकेनन् । कारण बदेलले उनको २ रोपनीको मकै नष्ट गरिदियो । उनले भने, ‘१ वर्ष भयो, बालीमा बदेल पसेको । गाउँका सबै किसानका बाली नष्ट गरिसक्योे । यसको समाधान कसरी गर्ने भन्ने कुरा अझै टुङ्गो लागेको छैन ।’

पनौती–१ रयालेका सारदा सापकोटाको पनि समस्या उस्तै छ । आफूले दुःख गरेर लगाएको बाली बदेलले खाएपछि उनमा पनि निराशा छाएको छ । अर्का किसान तुल प्रसाद अधिकारीलाई बदेलले मकै नष्ट गरेकोमा चिन्ता त छदैँ छ । गाईवस्तुलाई भोलि के खुवाउने र सोत्तरको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ । यो चिन्ता तुल प्रसादमा मात्र नभई वडा बासी सम्पूर्णमा देखिएको छ ।

भूकम्पपछि कृषकको बालीमा बदेल र मृगले दुःख दिन थालेको स्थानीय बताए । भूकम्पपछिको बसाईसराईले बस्ती पातलिदैँ गएका कारण पनि वन्यजस्तु कृषकको बालीमा प्रवेश गरेको उनीहरुले बताए । २ महिना अघि वडाका अधिकांश कृषकको मकै नष्ट बदेलले नष्ट गरेको थियो । अहिले कृषकहरुले आलु र तोरी लगाएका छन् । तोरी बालीमा मृग र आलु बालीमा बदेल पस्ने हो कि भन्ने चिन्ता उनीहरुमा अझै पनि उस्तै छ । बालीमा देखिएको वन्यजन्तुको समस्याबाट वडाका लगभग ३ सय घरधुरी प्रभावित भएको पनौती नगरपालिका वडा नं १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले बताए ।

उनले भने , ‘नगरपालिकाले यस वर्षको बजेट तथा निति कार्यक्रममा बाली बीमाको लागि बजेट छुट्टयाएको छ । बाली बीमा कार्यक्रमको प्रक्रिया सुरु भएपनि वन्यजन्तुले बालीमा पुर्याएको क्षतिको भने कुनै व्यवस्था छैन ।’

योजनाबद्ध ढंगले किसानका समस्याको समाधान गरिने: पनौती नगरपालिका प्रमुख
पनौती नगरपालिका वडा नं १, २ र ३ का कृषकहरुको बालीमा बदेल र मृगले पुुर्याएको र वडा नं ९ र १० मा बाँदरले कृषि क्षेत्रमा क्षति पुुर्याएको पनौती नगरपालिकाले जानकारी दिएको छ । कृषिमा देखिएको यी समस्या समाधान गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसँग आवश्यक समन्वय गरिरहेको नगरपालिकाका प्रमुख भीमप्रसाद न्यौपानेले बताए । उनले भने,‘यो समस्या नियन्त्रणको निम्ति के विधि हुन सक्छ भन्ने विषयमा खोजी भईरहेको छ ।

सरकारी निकायहरुले पनि यो समस्यलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा योजनाबद्ध ढंगले लाग्न जरुरी देखिन्छ । उनका अनुसार राष्ट्रिय जिवजन्तुलाई नोक्सान नहुने गरि समस्याको समाधान गर्नुपर्ने भएकाले केही समय बढि लाग्न सकछ । सामुुदायिक सारथी संस्थाले पनि यो विषयमा विशेष प्राथमिकताका साथ छलफल कार्यक्रम गरिरहेको छ । छलफलमा पनि पटक पटक यो विषयमा कुरा उठेकाले समस्या समधानका लागि फलो अप गरिने नगर प्रमुख न्यौपानेले योजना सुनाए ।

बाली बीमा बारे कृषक अनभिज्ञ, ८ वर्ष बित्दा पनि कार्यक्रम प्रभावकारी भएन

काभ्रेका ४ वटा स्थानीय तह कृषिको विशेषताले चिनिन्छ । पनौती, बनेपा, पाँचखाल र बेथानचोक गाउँपालिका । कृषि क्षेत्रलाई बलियो बनाउन स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । कृषि उत्पादन बढाउन स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरि रहेका छन् । तर दिर्घकालिन कृषि बाली संरक्षणको लागि भने कुनै कार्यक्रम गरेको पाईदैन । सरकारले कृषि क्षेत्रमा कृषकको आकर्षण बढाउन बाली बीमा कार्यक्रम ल्याएको ८ वर्ष भयो । ८ वर्ष बितिसक्दा पनि काभ्रेमा कृषि बाली बीमा कार्यक्रम प्रभावकारी भएको देखिदैन । बाली बिमाका लागि सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरिदिएको भएपनि अधिकांश कृषकहरु बाली बिमा बारेमा अनभिज्ञ नै छन् ।


पाँचखाल नगरलाई कृषिको भण्डारको रुपमा लिइन्छ । अधिकांशको पेशा कृषि नै । त्यहाँका किसानलाई आफ्नो बाली संरक्षणको लागि बाली बीमा गर्नुुपर्छ भन्ने कुुराको जानकारी छ । तर त्यहाँका किसानले बाली बीमा गरेका छैनन् । कारण यो विषय कृषक र नगरपालिकाको चासोको विषय बन्न सकेन । पाँचखाल नगरपालिकाले यस आर्थिक वर्ष २०७५/७६ को लागि कुल बजेटमध्येको २० लाख कृषि क्षेत्रको लागि छुुट्याएको छ । जसले कृषि बीमालाई समेटेको छैन । त्यसैले बाली बीमाका लागि कुनै पनि कार्यक्रम गर्न नसकिएको पाँचखाल नगरपालिकाका प्राविध साहयक ईश्वर अधिकारीले बताए ।

बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकाको अवस्थामा पनि केही फरक छैन । फरक छ त केबल बाली बीमाको बारेमा । यी दुुई स्थानीय तहका कृषकहरु बाली बीमा बारेमा अनभिज्ञ छन् । कारण स्थानीय तहले यो शिर्षकमा बजेट छुुट्याएको छैन । बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ को कुल बजेटमध्येको ३० लाख कृषि तथा पशुको लागि भनेर बजेट छुट्टयाएको छ ।

बनेपा नगरका कृषि क्षेत्रमा पनि बेला बेलामा वन्यजन्तुले नोक्सानी गर्ने गर्छ । बेदल, बाँदर र मृगले कृषि बालीमा क्षति पुर्याएको गुनासो नगरपालिकामा समय समयमा आउने गरेको बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए । उनले भने, कृषकले यो विषयमा माग गरेमा अबको आर्थिक वार्षिकमा बाली बीमाका विषयहरु पनि समेट्ने प्रयास गर्ने छौँ ।’ त्यस्तै बेथानचोक गाउँपालिकाले कृषि शिर्षकमा ३८ लाख ८० हजार छुट्याएको छ । गाउँपालिका बीमा कम्पनी पुग्न नसकेकाले पनि बाली बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको बेथानचोक गाउँपालिकाका नायब प्राविधिक साहयक विकास आचार्यले बताए । यी चार स्थानीय तह बाहेक जिल्लाका अरु स्थानीय तहमा पनि बाली बीमा कार्यक्रम गरेका छैनन् ।

त्यस्तै कृषि ज्ञान केन्द्रले पनि जिल्लामा बाली बीमा कार्यक्रम प्रभावकारी नभएको बताएको छ । बाली बीमामा कृषकहरुको उपस्थिती र चासो कमी भएकै कारण ८ वर्ष बिसिक्दा पनि कार्यक्रम प्रभाकारी हुन नसकेको केन्द्रको जानकारी छ । आर्थिक वर्ष २०७३/७४मा सय जना किसानले मात्र बाली बीमा गरेको छन् । प्रति किसानले १० रोपनी क्षेत्रफलमा बालीको बीमा गरेको केन्द्रकोे तथ्याङकमा छ । बीमा गरेको बाली कृषकस्तरबाट भरपुर स्याहार हुदाँ हुदैँ पनि क्षति हुन सक्छ ।

दैबि प्रकोप लगायत विभिन्न कारणले पनि क्षति भए बिमा भएको बालीको क्षतिपूर्ति दिने प्रावधान रहेको छ । भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, असिना, हिउँ वा तुसारो , आकस्मिक दुर्घटनाजन्य बाहय कारणहरु र रोगकिराबाट हुने हानि नोक्सानीको आधारमा रकम भुक्तानी गर्ने व्यवस्था रहेको छ । तर वन्यजन्तुबाट बालीमा नोक्सानी भएमा बाली बीमा गर्ने व्यवस्था भएको छैन । यस विषयमा सबै स्थानीय तह र सरोकारवला निकायहरुले पनि ध्यान दिनुपर्ने देखिन्छ ।