बैतडीमा मकैबालीमा फौंजीकीराको प्रकोप

Jun 6, 2020

बैतडीको प्रमुख बालीको रुपमा रहेको मकैबालीमा फौंजीकीराको प्रकोप देखिन थालेको छ । जिल्लाका विभिन्न स्थानमा किसानहरुले लगाएको मकैबालीमा फौंजीकीराको प्रकोप देखिएको छ । फौंजीकीराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानहरुले बताएका छन् ।
जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकीराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाँई गर्ने ठाउँका किसानहरुले चैत महिनामै मकै छरेका थिए । ती ठाउँहरुमा मकैमा फौंजीकीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । अहिले गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजी कीराको प्रकोप देखिएको उहाँले बताउनुभयो । मकै भित्र्याएर रोपाँई गर्ने ठाउँका किसानहरुले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौंजीकीराको प्रकोप देखिएको उहाँले बताउनुभयो । फौँजीकीराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको चन्दले जानकारी दिनुभयो । मकैबाली बैतडीको मुख्य खाद्यबाली भएपनि फौजीकीराको प्रकोपले यसको उत्पादनमा असर पार्ने उहाँले बताउनुभयो ।
जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि मकैबाली कीरा सखाप पारेको खबर प्राप्त भएको र त्यो फौंजी कीरा हो अथवा अर्कै कीरा हो भन्ने पत्ता लाग्न बाँकी रहेको उहाँले बताउनुभयो । यसरी फौजीकिराले मकैबाली सखाप पार्दा किसानहरुलाइ भोकमरी हुने चिन्ता भएको किसान देवदत्त भट्टले बताउनुभयो । बैतडीका विभिन्न स्थानहरुमा गरी १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ ।

 

जयराज अवस्थी/बैतडी,जेठ २४