सबै नागरिकको कोरोना बिमा गरिदिने तामाकोशी गाउँपालिका निर्णय

Sep 14, 2020

भदौ २९
दोलखाकोे तामाकोशी गाउँपालिकाले गाउँपालिका भित्रका सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ ।
देशमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेको भन्दै पालिकाले आफ्ना सबै नागरिकहरुको कोरोना विमा गरिदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।
तामाकोशी गाउँपालिकामा रहेका सहकारीहरुको प्रस्तावमा शनिबार सम्पन्न कार्यपालिका बैठकले सहकारीको सदस्य भएमा सहकारीले १ सय, व्यक्तिले १ सय र गाउँपालिकाले १ सय गरी विमा गरिदिने व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । सहकारीको सदस्य नभएमा विमा गर्ने व्यक्तिले २ सय तिर्नु पर्ने र त्यसमा गाउँपालिकाले १ सय थप गरी विमा गरिदिने भएको हो ।  व्यक्ति, सहकारी र स्थानीय तहको समन्वयमा चालु आर्थिक बर्षमा तामाकोशी गाउँपालिकाले कम्तिमा १२ हजार नागरिककोे कोरोना विमा गरिदिने निर्णय गरेको पालिकाले जनाएको छ ।
बर्षैपिच्छे एक पछि अर्को उदाहरणीय र लोकप्रिय काम गर्दै आएको तामाकोशी गाउँपालिकामा हालसम्म एकजनामा पनि कोरोना संक्रमण देखिएको छैन् । पालिकामा कोरोना संक्रमित फेला नपरेपनि विमा कार्यक्रमबाट नागरिकहरुले लाभ लिन सक्ने गाउँपालिकाको विश्वास छ ।