स्थानिय सरकारको काम बारे रचनात्मक बहसमा जुटे लिखु गाउँपालिकाका युवा

Jan 11, 2018

नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ९ का युवाहरु अचेल फूर्सदिलो समयलाई त्यत्तिकै खेर फाल्दैनन् । समय मिल्यो कि आफ्नो स्थानिय सरकारलाई कसरी जवाफदेहि बनाउने, स्थानिय सरकारका काममा कसरी निगरानी राख्ने र स्थानिय सरकारका निर्वाचित जनप्रतिनिधिहरुसंग कसरी मिलेर रचनात्मक काम गर्ने भनेर छलफल गरिहाल्छन् ।

लिखु गाउँपालिकाको वडा नम्बर ९ का यी युवाहरुलाई यस तर्फ घचघच्याउने काम भने रेडियो कार्यक्रम साझाबोलीले गरेको हो । साझाबोली रेडियो कार्यक्रम पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गतको सुशासन सम्बन्धी गाउँघरका मुद्दा उठाउने रेडियो कार्यक्रम हो । पारस्परिक जवाफदेहिता परियोजनाकै स्थानिय साझेदार संस्था सिडिसीको समन्वयमा केहि समय अघि स्थानिय युवाहरु अग्रसर भई श्रृजनशिल रेडियो श्रोता समुह गठन गरेर गाउँघरमा सुशासनको सवालमा समेत छलफल थालेका हुन् ।

श्रृजनशिल रेडियो श्रोता समुहको पछिल्लो बैठक यहि पुष १७ गते सम्पन्न भएको छ । यो बैठकमा पनि संधै झैँ श्रोता समुहका सबै सदस्यहरु उपस्थित भए, रेडियो कार्यक्रम साझाबोलीको पछिल्लो अंक सुने र छलफल गरे । यसपालिको बैठकमा श्रोता समुहका सदस्यहरुले राज्यका निकायहरुको काम, कर्तब्य र अधिकारका साथै नागरिकका हक अधिकारका बिषयमा केहिबेर छलफल समेत गरे । श्रोता समुहमा बसेर यसरी छलफल गर्दा नागरिकका हक अधिकार, स्थानिय सरकारले दिने सेवासुविधाहरु र यी सेवा सुविधाहरुलाई अँझ प्रभावकारी बनाउन नागरिक समाजको भुमिका के हुने रहेछ भन्ने बारेमा धेरै कुरा बुझिएको श्रोता समुहकी अध्यक्ष समेत रहेकी लिखु गाउँपालिका वडा नम्बर १ की जुना घले बताउनुहुन्छ ।

समुहका उपाध्यक्ष समेत रहेका लिखु गाउँपालिका वडा नम्बर १ कै रामशरण थापा क्षेत्री भन्नुहुन्छ-‘साझाबोली सुनेर स्थानिय तहको बजेट, कानुनका कुराहरु र आफ्ना हक अधिकारका बिषयमा कहाँ अनि कसरी आवाज उठाउने भन्ने बारेमा थाहा पाईयो । साथै आफ्ना गुनासोहरु लिएर सम्बन्धीत निकायसम्म कसरी पुग्ने भन्ने बारेमा पनि मैले यहि कार्यक्रमबाटै पहिलोपल्ट जानकारी पाएको हुँ ।‘  

सामुदायिक संचारकर्मी जमुना गजुरेलबाट

Member Comment
Sharda KC
good work jamuna jee
1 week ago