विदेशबाट फर्केर ब्यवासायिक कृषिमा लागेसँगै गाउँ भरिकै कृषिमा जुटे

Aug 26, 2019

पाल्पा, भदौ ९
सुनिल कार्की


तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि माथागढी गाउँपालिका–२, रुप्सेका किसानहरु व्यवसायिक कृषिमा लाग्न थालेका छन । उनीहरुले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन ।
माथागढी गाउँपालिका–२, रुप्सेका दामोदर घर्ती ३ वर्ष अगाडीसम्म भारतमा इलेक्ट्रिसियनको रुपमा काम गर्थे । अहिले उनी गाउँमै फर्केर व्यवसायिक तरकारी खेती सुरु गरेका छन । उनले विदेशमा भन्दा स्वदेशमै सानो कामबाट राम्रो फाईदा लिन सकिने बताए । रुप्से कृषी सञ्जालका अध्यक्ष समेत रहेका घर्तीले गत वर्ष आफूले पाँच लाख रुपैयाँ आम्दानी गरेको र चालु आर्थिक वर्षमा आम्दानी दोब्बरले वृद्धि हुने अपेक्षा राखेको बताए । बोडी, काँक्रा, करेला, लौका, घिरौला, सिमी लगायतका तरकारी सात रोपनीमा लगाएका घर्तीले यसको बजार व्यवस्थापनमा भने कठिनाई रहेको बताए ।
रुप्सेमा दामोदरमात्र एक्ला किसान होईनन् । रुप्सेकै मीना कोईरालाले पनि तरकारी खेतीबाट आत्मनिर्भर हुन मद्दत पुगेको बताईन ।
उत्पादनमा वृद्धि भएको र राम्रो आम्दानी भएकोले तरकारी खेतीमा आकर्षित भएको किसानहरुले बताएका छन् । अर्का किसान आत्माराम कोईरालाले तरकारी खेतीले जीविका चलाउन सहयोग पुगेपछि अन्य अन्नबालीभन्दा तरकारी खेती नै राम्रो भएको बताए ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रुप्सेका झण्डै ५० जना किसानहरुले तरकारी खेतीलाई रोजेको माथागढी गाउँपालिका–२, रुप्सेका वडाध्यक्ष जनक रिजेलले बताए ।
तरकारी खेतीका लागि माथागढी गाउँपालिकाले यान्त्रिकरणका लागि हाते ट्याक्टर, बिउबिजन, टनेल निर्माण र पोखरी निर्माणका लागि प्लाष्टिकमा अनुदान प्रदान गर्दै आईरहेको छ । माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार नेपालीले ८ थान प्लाष्टिक मल्चिङ, १६ थान टनेल, २ सय थान टनेल, ३७ हातेट्याक्टर वितरण गरिएको बताए ।