सल्यानको खलंगामा सार्वजनिक निजी समुहको बैठक सम्पन्न

Feb 4, 2018

सल्यान जिल्लाको खलंगामा स्थानिय तहमा रहेका सार्वजनिक निकाय, नागरिक समाजसंस्था एवं निजी क्षेत्रको सुशासन तथा पारस्पारिक जवाफदेहिता परियोना प्रवर्द्धनका निम्ति सार्वजनिक-निजी समुहको बैठक हालै सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र सल्यानको आयोजनामा पारस्पारिक जवाफदेहिता परियोजनाको सहयोगमा उक्त बैठक सम्पन्न भएको हो ।

बैठकले जिल्लाका १० वटा स्थानीय तहहरुमा सुशासन प्रवर्द्धन र खाद्य अधिकार सञ्जाल गर्ने निर्णय समेत गरेको छ । यसका लागि जिल्ला समन्वय समिति र जिल्लाका बिभिन्न संघसंस्थासंग सहकार्य गरेर जाने योजना पनि बैठकले बनाएको छ । जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टको अध्यक्षतामा भएको उक्त बैठकमा समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी लगायत सार्वजनिक क्षेत्र एवं निजी क्षेत्रका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख विष्टले यतिबेलाका स्थानिय सरकारले राम्रो काम नगरे जनता नै व्यवस्थाको विरोधमा जान सक्ने खतरा औँल्याउनुभयो । यदि जनतामा सेवा दिने खालका प्रभावकारी काम हुन नसके जनतासंग विरोध गर्ने अधिकार भएकाले बेलैमा सबैले बुझ्नुपर्ने उहाँको भनाई छ । साथै उहाँले जिल्लाको स्थानिय तहमा सहकार्य गर्नेगरि जिल्ला समन्वय समितिले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख हरी प्रकाश बुढाथोकीले अधिकार कति हुन, के गर्न पाउने विषयमा एकरूपता नभएकाले यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो । न्याय सम्पादन गर्दा मानव अधिकार हनन हुनेतिर सजग हुनुपर्ने भन्दै उहाँले वडा स्तरका जनप्रतिनिधिलाई काम सिकाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अन्य सहभागीहरुले स्थानिय तहमा हुने क्षमता विकासका कार्यक्रममा सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रममा जिल्लाका विभिन्न नागरिक समाज संस्थाहरुको सहभागिता रहेको थियो ।

सामुदायिक संचारकर्मी सरिता चलाउनेबाट