बर्दियाको बाँसगढी नगरपालिका-८ मा योजना छनौट प्रक्रिया बारे रेडियो छलफल

Jun 29, 2018

बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा यतिबेला बस्तीस्तरबाट योजना छनौट गरि पठाएर नगर सभाको तयारी गरिँदैछ । योजना छनौटका लागि के भईरहेको छ भन्ने बारेमा हालै नगरपालिकाको वडा नम्बर ८ मा भएको छलफलमा उपस्थित नागरिक तथा जनप्रतिनिधिहरुले टोल, बस्ती तथा वडास्तरका योजनाहरु नगरसभाका लागि छानिपठाएको बताएका हुन् । 

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत उत्पादन हुने रेडियो कार्यक्रम साझाबोलीको स्थानीय संस्करणका लागि बाँसगढी नगरपालिका वडा नं ८ को वडा कार्यालयमा छलफल गरिएको हो । योजना छनौट प्रक्रिया यतिबेला के हुँदैछ भन्ने बिषयमा छलफल गरिएको हो । रेडियो छलफल कार्यक्रममा वडा नं ८ का अध्यक्ष तुल प्रसाद गौतमले बस्ती स्तरको योजना छनौट प्रक्रिया अन्तर्गत आफ्नो वडामा तीन चरणमा भेला गरेर योजना छनौट गरी नगरसभामा पठाएको जानकारी गराउनु भयो ।

साथै सानासाना योजना बनाएर काम गर्दा विकासको गति नदेखिएको हुनाले ठुला र काम देख्निने योजना मात्र छनौट गर्ने आदेश नगर कार्यपालिकाबाट आएकोले सोही अनुासर वस्तीस्तरको योजना छनौट गरेको जनाकारी गराउनुभयो । तर यस बिषयमा सहभागी नागरिकहरुले सानासाना योजनाले गर्दा आफुहरुले धेरै दुःख पाईरहेको गुनासो गरेका थिए ।

रेडियो छलफल कार्यक्रममा नगरपालिकाले ठुलो योजना ल्याएर ५ बर्षभित्रमा आफ्नो काम देखाउन खोज्नु राम्रो भएपनि, गाँउ समुदायमा साना साना योजना एउटा सानो पुलले गर्दा पढ्ने बालबालिकालाई स्कुल जान जोखिम भएकोले ठुलो योजना संगसंगै साना योजना पनि समेटेर लैजान नागरिक समाजका अगुवाहरुले सुझाव दिएका थिए । कार्यक्रममा बाँसगढी नगरपालिका वडा नं ८ का अध्यक्ष तुल प्रसाद गौतम, सदस्य राजाराम थारु, सारदा आचार्य, डेउढाकाला सामुदायिक मेलमिलाप केन्द्रका संयोजक गोपाल वली, नागरिक समाज सदस्य बाबुराम पंगेनी, सामुदायिक पुस्तकालय ककौराका अध्यक्ष नबिन अधिकारी, लगायत गाँउका अगुवा, बडघर, चौकिदारहरुको उपस्थिति रहेको छ । कार्यक्रम संचालन सामुदायिक संचारकर्मी अनोज थारुले संचालन गर्नुभएको थियो ।