बिरामी बोकेको एम्बुलेन्स खोलाले बगायो

Jul 29, 2020

सरिता कुमारी चाैधरी

दाङ साउन १४। दाङमा खोलाले बिरामी बोकेको एम्बुलेन्स बगाएकाे छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने हापुर खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो। घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर विकले जानकारी दिनु भयाे ।

खोलाले बगाएको एम्बुलेन्सलाई प्रहरीले बिहान साढे ५ बजेतिर उद्धार गरेको थियो। खोलाले एम्बुलेन्स बगाएको खबर पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्सबाट तीनजनालाई उद्धार गरेका थियौ,’ उनले भने, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’ उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र नारायणपुरबाट ७ जनाको प्रहरी टोलीले खतिएकाे थियाे। खोलाले एम्बुलेन्स बगाएर सडकदेखि २० मिटर तल लगेकाे अवस्थामा प्रहरीले डोजर प्रयोग गरेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनका अनुसार खोलाले एम्बुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु सार्की, उनकी श्रीमती शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ वर्षीय शरद नेपालीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो। 

घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाले वर्षेनि साना सवारीसाधन बगाउने गरेका छन्।  उक्त सडकखण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतमा पुल भए पनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायत खोलामा पुल नबन्दा वर्षामा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।