बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

Oct 4, 2018

विनोद सिंह विष्ट

असाेज १८, बैतडी
सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश संघिय संरचनामा गई स्थानीय सरकार गठन भएको एक बर्ष बढी बितिसक्दासमेत यहाँका ६ गाउँपालिका र ४ नगरपालिका अझै शिक्षा शाखा प्रमुखकाे बहाली हुन सकेकाे छैन ।

शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहहरुले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन् । नगरपालिकामा १ जना उपसचिव, १ जना शाखा अधिकृत र १ जना प्राविधिक सहायक रहने व्यवस्था छ । यसैगरी गाउँपालिकाका १ जना शाखा अधिकृत र १ जना प्राबिधिक सहायकको दरबन्दी रहेको छ । तर बैतडीका कुनै पनि स्थानीय तहमा त्यो दरबन्दी पदपुर्ती हुन सकेको छैन् ।

दरबन्दी पदपुर्ती नहुँदा शिक्षासम्बन्धीका कामकाज गर्न समस्या भईरहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, 'विकासको मेरुदण्ड मानिएको शिक्षाका कर्मचारी अभावमा कामकाज प्रभावित भएको छ । ”
नेपालको संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भएपनि शिक्षाका दरबन्दी पदपुर्ती नहुँदा समस्या भएको छ ।

संविधानको व्यवस्थासँगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउँपालिकामा गाउँ शिक्षा शाखामा शिक्षाका अधिकृतहरू खटाइएका हुन् । तर यहाँका स्थानीय तहमा कर्मचारी पुगेका छैनन् ।  

साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतहरूलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो । शिक्षा अधिकारी नहँुदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ ।