सात नम्बर प्रदेशका ५३ वटा स्थानीय तह बैंकविहीन

आर्थिक कारोबारका लागि सदरमुकाम धाउनु पर्दा स्थानीयलाई सास्ती

डडेल्धुरासहित सात नम्बर प्रदेशका ९ वटै जिल्लाका स्थानीय तहमा बैंक खोल्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधीले काम थालेको महिनौ बितिसक्दा पनि यस क्षेत्रका स्थानीय तहमा बैंकहरु खुल्न सकेका छैनन् । सबै जिल्लाका स्थानीय तहहरुमा स्थापना गरिने बाणिज्य बैंकहरुको बारेमा टुङ्गो लागे पनि स्थानीय तहमा बैंकहरु स्थापना हुन सकेका छैनन । प्रदेश नं. ७ का ९ ओटै जिल्लाका ३६ स्थानीय तहमा शाखा स्थापना गर्न बिभिन्न बाणिज्य बैंकहरुले पुर्व स्वीकृति लिए पनि इन्टरनेट र अन्य अत्यावश्यक सेवाको अभावमा बैंक स्थापना हुन नसकेको नेपाल राष्ट्र बैंक सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।
हालसम्म बैकिङ सेवा सहरमुखी तथा सुविधाजनक ठाउँमा मात्र उपलब्ध हुँदै आएकोमा अब ग्रामीण क्षेत्रमा समेत पुर्‍याउने लक्ष्य रहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक रमेश आचार्यले बताउनुभयो । सरकारको निर्देशनबमोजिम हरेक स्थानीय तहमा शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई पत्राचार गरेको उहाँले बताउनुभयो । प्रदेश नम्बर ७ का ९ जिल्लामा जम्मा ८८ वटा स्थानीय तह छन जसमध्ये ५३ वटँ स्थानीय तहमा बैंकिङ सेवा सञ्चालन गर्न सकिएको छैन ।
डडेल्धुराका ५ स्थानीय तह बैंक विहीन छन । अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा बैंकका शाखा खोल्ने होडबाजी चलिरहे पनि ५ ओटा गाँउपालिकामा बैंकहरु पुग्न सकेका छैनन् । डोटीका ९ स्थानीय तह मध्ये दिपायल सिलगढी नगरपालिकावाहेक अन्य स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् ।
यसैगरि बैतडीका पाटन र दशरथचन्द नगरपालिकामा मात्रै बैकिङ सेवा छ । पुरचौडी नगरपालिकासहित ७ गाँउपालिकामा बैंक छैनन् । पुरचौडी नगरपालिकामा ग्लोवल आईएमई बैंकले शाखा स्थापना गरेपनि इन्टरनेट सेवाको अभावमा कारोबार सुचारु गर्न सकेको छैन ।
अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन ।
जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ । हाल सदरमुकाम रहेको मंगलसैनमा नगरपालिकामा पाँच वटा, मुख्य व्यापारिक केन्द्र रहेको साफेबगरमा चार वटा र कमलबजारमा नगरपालिकामा एकगरी जिल्लाभर जम्मा नौ वटा बाणिज्य बैंकले सेवा दिइरहेका छन् ।
दुई नगरपालिका सहित १२ वटा स्थानिय तह रहेको बझाङमा सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकावाहेक ११ वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । जिल्लाको विकट क्षेत्रमा रहेको बुंगल नगरपालिकाकी उपप्रमुख मिना जाग्रीले नगरपालिका भएपनि बैंक नहुँदा सर्वसधारणलाई निकै समस्या उत्पन्न भइरहेको र कार्यालय सञ्चालनमा पनि बाधा परिरहेको बताइन् ।
चार नगरपालिका र पाँच गाँउपालिकासहित ९ ओटा स्थानीय तहरहेको बाजुरामा ७ स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । बाजुरामा बडिमालिका, बुढीनन्दा र बुढीगंगा नगरपालिकामा मात्रै बैंकिङ्ग सुविधा छ । बाँकी ६ वटा स्थानीय तहमा निजी बैंकले शाखा विस्तार गरेर काम गर्ने बचन दिएपनि सदरमुकाम र बजार क्षेत्र केन्द्रीत बनेको सर्वसाधारणको गुनासो छ ।
दार्चुलाका ग्रामीण भेगका स्थानीय तहमा बैंकका शाखा नहुँदा कारोबार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । सर्वसाधारण मात्र नभई गाउँपालिका र नगरपालिकाका कर्मचारीले समेत बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनैपर्ने बाध्यता रहेको छ । जिल्लाका अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहु गाउँपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा बैंक सेवा पुगेको छैन ।
प्रदेश ७ को अस्थायी मुकाम रहेको कैलालीका पहाडी क्षेत्रमा रहेका चुरे र मोहन्याल गाउँपालिकामा बैंकहरु नहुँदा दुई दिनको समय लगाएर बैंकसम्म धाउनुपर्ने वाध्यता रहेको कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष दिपा वुढाले बताइन् । स्थानीय तहमा बैंक नभएकोले स्थानियबासी तथा सरकारी कर्मचारीहरु सदरमुकाम वा नजिक रहेको अर्को स्थानीय तहको बैंकमा धाउन बाध्य भएका छन । कैलालीको धनगढीमा प्रायः सबै सरकारी र निजि बैंकहरु रहँदा बिभिन्न स्थानीय तहमा पर्ने अत्तरीया, सुख्खड, लम्की र टीकापुरलगायतका सहरी क्षेत्रमा पनि धेरै बैंकहरुले सेवा दिईरहेका छन ।
प्रदेश ७ मा पर्ने तराईको अर्को जिल्ला कञ्चनपुरका ५ स्थानीय तहमा बैंकिङ सेवा पुग्न सकेको छैन । स्थानीय निर्वाचनका बेला गाउँगाउँमा सिंहदरबार भन्ने नारा घन्किएपनि ग्रामीण क्षेत्रका बासिन्दाले बैंकको अभावमा यस्तो अनुभूति गर्न नपाएको गुनासो गरेका छन । ग्रामीण क्षेत्रबाटै सहज रुपमा सेवा लिने आशामा रहेका स्थानीय बासिन्दा अहिले हजारौँ रुपैँया तिरी घण्टौ हिँडेर जिल्ला सदरमुकाम धाउनु परेको छ ।
स्थानीय तहमा बैंकहरु नखुल्दा बैंकिङ कारोबारका लागि अझै सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा डेढ दर्जन बढी बैंकहरु सञ्चालनमा रहेका भएपनि जिल्ला सदरमुकाम क्षेत्रमै बैङ्क स्थापना गर्ने होडबाजी भने कायमै छ । जिल्ला सदरमुकाम तुफानडाँडामा आइतबार मात्रै सानिमा विकास बैङ्कले शाखा सञ्चालनमा ल्याएको छ ।
सानिमा विकास बैंकले सानिमा वैंकले डडेल्धुरामा ५३ आंैै शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । आइतबार बैंकका सञ्चालक भरतबहादुर थापा र ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले संयूक्त रुपमा शाखा कार्यालयको उदघाटन गरेका छन ।
बैंकका सञ्चालक थापाले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने बताए । कैलाली र कञ्चनपुरमा यस अघिनै शाखा विस्तार गरिसकेको सानिमा विकास बैंकले डडेल्धुरा सदरमुकाममा प्रदेश नं. ७ मा आफ्नो तेस्रो शाखाको रुपमा शाखा स्थापना गरेको हो । सोमबार कैलालीको टीकापुरमा पनि शाखा विस्तार गर्ने र छिट्टै डडेल्धुराको भागेश्वर गाउँपालिकाको बगरकोटमा समेत सेवा विस्तार गर्ने सानिमा विकास बैंकले जनाएको छ ।