तरकारी खेती बाट मनग्ये आम्दानी लिँदै बुढाथोकी दम्पति

कुनै बेला गुन्द्रुक बनाउन चरिकोटबाट साग बोकेर लानु पर्ने ठाउँमा यो बेला तरकारीको हरीयो बोट देखेर बटुवाको समेत मन लोभिने गरेको छ ।
जिरी लामो साँघु सडक खण्डले छोएको दोलखाको सदरमुकाम चरिकोट बाट १३ किलो मिटर तल भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवा पछिल्लो समय तरकारी उत्पादनका लागि उर्वर भूमिको रुपमा परिचित हुन थालेको छ ।
यो भूमीमा पसिना सिंचित गर्ने पौरखी पाखुरालाई हात खर्चको मात्र होइन वचत गर्न सम्म मनग्ये आम्दानी हुने गरेको छ । आज भन्दा ५/७ वर्ष अगाडी सम्म परम्परागत खेतीमै सिमित भएका किसानहरु अहिले तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
भीनपा ५ विरुवाकी कल्पना बुढाथोकी आफैले लगाएको तरकारी खेतीबाट दंग हुनुहुन्छ । ३ बालि लाग्ने खेती योग्य जमिनमा आवश्यक ज्ञान नहुँदा काउलीको तरकारी खान समेत काठमाण्डौँको बाटो कुर्नु पर्ने बाध्यता सुनाउँदै आफ्नो गाउँमा धेरै थरी तरकारी उत्पादन गर्न सक्ने भए पछि तरकारी खेतीलाई प्राथामिकतामा राखेको बताउनु हुन्छ–कल्पना भन्नुहुन्छ जाँगर हुनेको लागि माटोमा सुन फल्छ । कल्पनाको सिको गर्दै अरु छिमेकीले पनि तरकारी लगाउन थाले पछि खुशी लागेको बताउनु हुन्छ ।
मौसमी र बेमौसमी तरकारी खेतीको लागि ख्याती कमाउनुभएका दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवाका कल्पना बुढाथोकी र शान्त बहादुर बुढाथोकीले मात्रै तरकारी व्यापारबाट एक वर्षको अवधिमा ४ लाख बढि आम्दानी लिनुहुन्छ ।
“महिला पुरुष एक रथका दुई पाङ्ग्रा” भन्ने उखानलाई आत्मासाथ गर्दै, श्रीमान र श्रीमति मिली तरकारी उत्पादन गरेर समाजको उदाहरणीय व्यक्ति बन्न सफल हुनुभएको छ । शान्त बहादुर बुढाथोकी र कल्पना बुढाथोकीले घरमा बाख्रा, भैँसी र कुखुरा पालन गर्नुका साथै उहाँहरुले खेत बारीमा सिमि, करेला, बोडि, काक्रो, गाँजर, टमाटर, तरकारी खाने खुर्सानी, आलु, भन्टा लगाएतका तरकारी उत्पादन गर्नुभएको छ । कल्पनाले आफ्नो बालीमा उत्पादन गर्नुभएको तरकारी दोलखाको तामाकोशी, सदरमुकाम चरिकोट बजार विक्रि वितरणका लागि लग्ने गर्नुभएको छ । उहाँहरुले गर्नुभएको बार्षिक आम्दानीले छोराछोरीलाई पठन पाठनमा ठुलो सहयोग पुगेको छ त । घर खर्च चलाउन सहज भएको छ । सुगर रोगको औषधी सेवन गरिरहनुभएका कल्पना र मुटु रोगको औषधी सेवन गरेर जिवन बिताईरहनु भएका शान्त बहादुर बुढाथोकी, दुवै जना साँझ नपरुनजेल खेतबारीको काममा तलिन हुनुहुन्छ ।
तरकारी खेतिबाट मनग्य आम्दानि लिन सफल यि दम्पति, आफ्नो गाउँ ठाउँमा भएको खेतबारीलाई बाँझो नराखि खेति गर्ने हो र व्यापारको लागि राम्रो बजार भाउ पाउने हो भने नेपाली युवाहरु विदेशमा जान नपर्ने बताउनुहुन्छ। तरकारी व्यापारका लागि सदरमुकाम चरिकोट आउनुभएका कल्पना भन्नुहुन्छ "ग्राहकहरुले तराईबाट आएको तरकारी भन्दा महँगो नै भएपनि जिल्लामा उत्पादन भएको अगार्नीक तरकारी खुसी भएर लैजानुहुन्छ।" करिब ५३/५८ वर्षीय बुढाथोकी दम्पतिलाई आफु अस्वस्थ हुँदा त खेतबारीको काम गर्न छाड्न मन लाग्दैन भने झन स्वस्थ भए त धेरै काम गरी गाउँमै मनग्य आम्दानी लिने विचार सुनाउँनुहुन्छ । उहाँहरु भन्नुहुन्छ “हाम्रो नेपालि समाजले आफ्नो गाउँमा भएको जग्गा जमिनलाई सहि तरिकाले प्रयोग गर्न जानेमा थोरै दुखमा धेरै आम्दानी हुन्छ, परिवारका सदस्यहरु सबै साथमा हुईन्छ र जति दुख भएपनि सुखको आभास गर्दै दैनिकि चलाउन पाईन्छ” । आज भन्दा ५/७ वर्ष अघि सुनसान र सुख्खा डाँडो देखिने विरुवाको यो खेतमा मयुर र बाँदरको लुकामारी खेल्ने ठाउँ बुझिनथ्यो । आज भोलि यो कुरामा परिवर्तन भएको छ भने, ताजा र हरियाली साग शब्जीले थप सुन्दर प्रदान गरेको छ ।