सामाजिक जवाफदेहिताका औजारको व्यवहारिक प्रयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा यहि माघ २२ गते सोमबार सामाजिक जवाफदेहिताका औजारको व्यवहारिक प्रयोगका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले पारस्परिक जवाफदेहिता परियोजनासंगको सहकार्यमा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैह्रसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


कार्यक्रममा पछिल्लो समय सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगमा कमि आएको जिल्ला समन्वय समिति दोलखाका बरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाईले बताउनुभयो । सो अवसरमा उहाँले पहिले जिल्ला विकास समिति दोलखाले सार्वजनिक सुनुवाई गर्ने, बुलेटिन प्रकाशन गर्ने, बैठकले गरेको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलन गर्ने जस्ता कार्य गरेको भए पनि अहिले समन्वय समिति भएपश्चात भुमिका कम भएको बताउनुभयो । उहाँले आगामी दिनमा सरोकारवाला निकायलाई जवाफदेही बनाउन नागरिक समाजका संघसंस्थासंग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै कार्यक्रममा आ-आफ्नो विचार राख्दै सहभागीहरुले सार्वजनिक सेवा प्रदायक कार्यालयमा राखिने उजुरी पेटिकाको महत्व घट्दै गएको बताए ।
कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत मित्र समाज काठमाण्डौका सामाजिक विकास विज्ञ कर्ण नेपालीले नेपालमा सामाजिक जवाफदेहिता औजारहरको प्रयोगको अवस्था, सामाजिक जवाफदेहिता प्रवर्द्धन गर्न प्रयोग गरिने औजार लगायतका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
सरोकारवाला निकायहरुबिच पारदर्शिता र जवाफदेहिता बारेमा साझा बुझाईको विकास गर्ने, सार्वजनिक सेवा प्रवाहमा सामाजिक जवाफदेहिताका औजारहरुको महत्वबारे अन्तरक्रिया गरी थप स्पष्ट गर्नुका साथै यी औजारहरुको प्रयोग सम्बन्धी छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले विभिन्न निकायसंग मिलेर जिल्लामा जवाफदेहिताका औजारहरुको व्यवहारिक प्रयोगका लागि सहकार्य गरिने बताउनुभयो ।

सामुदायिक संचारकर्मी विमला बुढाथोकीबाट

Member Comment