कृषिमा नयाँ प्रविधिको प्रयोग गर्दै बेथानचोकका कृषक

Jan 26, 2019

ज्योति श्रेष्ठ

काभ्रे, माघ १२

केही वर्ष अघिसम्म काभ्रेको बेथानचोकका कृषकका खेतबारीमा गहुँ, तोरी, मकै जस्ता अन्नबाली मात्र उब्जन्थ्यो । तर पछिल्लो समय कृषकले कृषिमा नयाँ प्रविधिको सिप सिकेर व्यवसायिक तरकारी र फलफूल खेती गर्न थालेका छन् जसले कृषि क्षेत्रमा मात्र नभई स्थानीयवासीको जीवनस्तरमा पनि परिवर्तन ल्याएको छ ।

बेथानचोक–३ की भवानी घिमिरे केही वर्ष अघिसम्म फुर्सिदलो देखिनिुहुन्थ्यो । तर अचेल उहाँको दैनिकी तरकारी खेतीमा व्यस्त भएको छ । मकै, गहुुँ, तोरी, आलु मात्र फल्ने उहाँकाे खेतबारीमा अहिले हरिया लसुन, प्याज, बकुला, सिमी, बन्दा, आलु खेतैभरी लहलह छन् ।

उहाँले व्यवसायिक रुपमा तरकारी खेती गरेको धेरै समय भएको छैन । भर्खर ५/६ महिना मात्र भयो । छोटो समयमा नै उहाँले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहनु भएको छ । उहाँले भन्नुभयो, ‘सिजन नभएको बेलामा पनि एउटा बालीबाट २५ देखि ३० हजार रुपैयाँको आम्दानी हुन्छ । एउटै बालीबाट सिजनको बेलामा ५० देखि ६० हजार रुपैयाँ सम्म पनि आम्दानी भएको छ ।’ गाउँमा आएको नयाँ प्रविधि र कृषिसम्बन्धी तालिमले नै व्यवसायिक खेतीको थालनी गरेको घिमिरेले बताउँनुभयो ।

२०७२ सालको भूकम्पपछि बेथानचोकमा सिआरटिएन (ग्रामीण प्रविधि केन्द्र)ले वातावरणमैत्री गाउँ विकास अवधारणा कार्यक्रम लागू भएको थियो । केन्द्रमार्फत सन २०१५ देखि सुरु गरेको कार्यक्रमले बेथाचोक गाउँपालिकाका च्याम्राङबेसी, ढुङखर्क, चलाल गणेश, च्यासिंखर्क र भंग्देउ महाँकालमा वातावरणमैत्री आधुनिक खेती गरेको छ ।

यसको लागि विगत ४ वर्षदेखि यी क्षेत्रमा व्यवसायिक तरकारी खेती, मौरी पालन, फलफूल खेती, प्रांगारिक खेती प्रविधि, सुधारिएको चुलो, सुुधारिएको पानी घट्ट, प्लास्टिक टनेल, फोहोर व्यवस्थापन, पोखरी निर्माण, पानीको सुविधाका लागि हाईड्रोलिक र्याप पम्प, सौर्यबत्ती जस्ता कार्यक्रम सञ्चालन भएको केन्द्रले जनाएको छ । केन्द्रको यस कार्यक्रममा स्थानीय कृषकहरुको सक्रिय सहभागिता रहेकाले कार्यक्रम निकै प्रभावकारी भएको पनि केन्द्रको जानकारी छ ।

गाउँघरमा परम्परागत चुुलोबाट खाना पकाउने गरिन्छ । बेचानचोक–२ की रमा तिमल्सिनाले पनि बितेका २ वर्षअघि परम्परागत चुलो नै प्रयोग गर्ने गर्नुहुन्थ्यो । गाउँमा वातावरणमैत्री गाउँ विकासको अवधारण सुरु भएसँगै उहाँले पनि सुधारिएको चुलो प्रयोगमा ल्याउँनुभएको छ । सुुरुमा त सुधारिएको चुलो प्रयोगमा ल्याउन कठिनाई हुने हो कि भन्ने चिन्ता उहाँमा थियो ।

तर प्रयोगमा आएपछि उहाँलाई पराम्परागत चुलो र सुधारिएको चुलोमा खासै फरक लागेन । सुधारिएको चुलो प्रयोग गर्दा धेरै फाईदा हुने रमाले बताउँनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सुधारिएको चुलो प्रयोग गर्दा दाउराको पनि बचत भएको छ । धुवा, धुुलो नहुने हुदाँ खाना पकाउन पनि सजिलो भएको छ ।’ रमा जस्तै गाउँका अरु उपभोक्ता पनि सुधारिएको चुलोबाट लाभान्वित भएका छन् ।

कृषिमा आएको नयाँ प्रविधि बेथानचोकका –२ का अर्का कृषक सुरेन्द्र श्रेष्ठले पनि प्रयोगमा ल्याउँनुभयो । पहिला आफ्नो परिवारको लागि मात्र खान पुग्ने अन्नबाली र तरकारी उब्जाउने श्रेष्ठले अहिले व्यवसायिक रुपमा तरकाी खेती गर्दै आउँनुभएको छ । गाउँमा आएको सिप सिकेर आधुनिक प्रविधिबाट तरकारी खेती गर्दा धेरै फाईदा भएको श्रेष्ठले बताउँनुभयो । उहाँले भन्नुभयो, ‘पहिला कुन तरकारीलाई कति विषदी र मल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा थिएन । प्रांगारिक मल र त्यसको प्रयोग बारेमा पनि केही थाहा थिएन । अहिले हामीले तरकारी खेती बारे धेरै कुरा थाहा पाएका छौँ । यसले हामीलाई नै सजिलो भएको छ । तरकारी खेतीबाटै राम्रो आम्दानी भएको छ ।’ श्रेष्ठले अहिले ४ रोपनी खेतमा मूला र आलु लगाउँनुभएको छ । जसबाट ५० देखि ६० हजार रुपैयाँ आम्दानी लिने उहाँको अनुमान छ ।

सुरेन्द्र जस्तै बेथानचोकका अर्का किसान कृष्ण तिमल्सिनले पनि वातावरणमैत्री गाउँ विकास अवधारण भित्रिएसँगै अर्गानिक तरकारी खेती सुरु गर्नुभएको छ । अर्गानिक तरकारी खेती गर्दा आफू स्वस्थ्य हुनुको साथै स्वस्थ्य तरकारी उत्पादन र बितरण गर्न सकिने उहाँले बताउँनुभयो । अर्गानिक तरकारी उत्पादनले सबैलाई फाईदा गराए पनि आफ्नो उत्पादनको राम्रो बजार भाउ पाउन नसकेकामा उहाँको दुुखेसो छ । उहाँले भन्नुभयो, ‘बिचौलियाका कारण हामी दुुःख गरेर खाने किसानलाई निकै घाटा भएको छ । हामीले दिएको मूल्यभन्दा ५ गुणा बढी मूल्य तिरेर उपभोक्ताहरुले तरकारी किन्ने गर्छन् ।’

विगत ४ वर्ष बेथानचोकमा वातारणमैत्री गाउँ विकासको अवधारण निर्माण गर्दै आएको सिआरटिएन (ग्रामीण प्रविधि केन्द्र)ले आयोजना गरेको यो कार्यक्रम निकै प्रभावकारी भएको केन्द्रको परियोजना कार्यक्रम संयोजक शोभाना मर्हजनले बताउँनुभयो । उहाँले भन्नुभयो, ‘४ वर्ष बेथानचोकका कृषकहरु सक्रिय सहभागिता र उहाँहरुको साथ र सहयोगले नै हामीले कार्यक्रम समयमा नै सम्पन्न गर्न सफल भयौँ । कार्यक्रमको सबैभन्दा उपलब्धि भनेको वातारणसम्बन्धी जनचेतना जगाउँनुु हो । स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याउनु पनि सफल भयौँ । भोलिका दिनमा पनि बेथानचोकबासीसँगै यस्तै कार्यक्रम सँगै सहकार्य गर्ने योजना पनि भईरहेको छ ।’

केन्द्रले आयोजना गरेको यो कार्यक्रममा स्थानीय तहले पनि धेरै सहयोग गरेको कार्यक्रम संयोजक शोभाना मर्हजनको जानकारी छ । बेथानचोक गाउँपालिकाले पनि गाउँलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भयाे । उहाँले भन्नुभयो, ‘अहिले गाउँपालिकाका सबै वडाहरुमा गहुँ, तोरी, मूूला,रायौँ र तरकारीका बिउहरु वितरण गर्ने कार्य भईरहेको छ । तरकारीका उत्पादन बढाउने लक्ष्य राखिएकाले यस अार्थक वर्षमा कुुल बजेटको १० प्रतिशत कृषिको लागि छुट्याईएको छ ।

पछिल्लो समय बेथानचोक गाउँपालिका दूध र तरकारी उत्पादनमा आत्मनिर्भर हुुदैछ । गत वर्ष मात्र गाउँपालिकाले १२ करोड रुपैयाँको आलुु उत्पादन गरेको थियो । त्यस्तै दैनिक ३ देखि ४ ट्रिप तरकारी उत्पादन हुनुको साथै १५ हजार लिटर दूध गाउँपालिकामा उत्पदान हुने बेथानचोक गाउँपालिकाले जानकारी दिएको छ ।